सानो गौचरन रंगशालाको पुनःनिर्माण सुरू, १९ करोड रुपैयाँ खर्च हुने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले सानो गौचरन रंगशाला पुनःनिर्माण सुरु गरेको छ।

उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरेकी हुन्।

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रूपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ।

रंगशाला पुनःनिर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन्।

‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत रंगशाला पुनःनिर्माण गर्न लागेका हौँ,’ उनले भनिन्।

वडामा रंगशाला पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा राखे।

‘टोलहरु र चोकहरुमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउण्ड निर्माण हुन्छ। भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ,’ प्रजापतीले कार्यान्वयनमा आएका योजनाका विषयमा जानकारी गराए।

रंगशालामा ९६×६२ मिटरको खेल मैदान हुनेछ। मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ।

वरिपरि सिमा पर्खाल हुनेछ। यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ हुनेछ।

रंगशालाको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन्।

पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन्।

रंगशालामा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन्।

छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ।

रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ।

यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *