रास्वपा सभापति रवि लामिछानेलाई आज साँझ वा भोलि बिहान काठमाडौं ल्याइने
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौँ ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिएन् ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि मंगलबार काठमाडौँ ल्याइने भनिए पनि स्थगित हुन पुगेको थियो ।
उनलाई आज बुधबार या भोली मात्र काठमाडौँ ल्याइने भएको छ ।
रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछानेलाई बुधबार साँझ वा बिहीबार बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका छन् ।
पोखरामा नै रहेका उनले फेसबुकमा लेखेका छन्– ‘कास्की प्रहरीले रवि दाइलाई बुधबार साँझ वा बिहीबार बिहान मात्र काठमाडौं पठाउने भएको छ ।’
उनलाई यस बीचमा बयानका लागि पोखराबाट रुपन्देही लगिएको थियो ।
काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ । लामिछानेलाई आइतबार मात्र कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की बाहेक रुपन्देही, काठमाडौँ र चितवन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले सहकारी ठगी मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।