बेलायतका इन्जिनियरले देखाए थानकोटबाट बनेपासम्म मेट्रो रेल चल्ने आधार

Thankot Times

थानकोट ।

बेलायतका इन्जिनियरहरूले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउन सकिने विभिन्न आधार प्रस्तुत गरेका छन् । ‘इन्स्टिच्युसन अफ सिभिल इन्जिनियर्स’ र ‘सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके’ ले गत बुधबार आयोजना गरेको एक कार्यक्रममा बेलायती र नेपाली इन्जिनियरले यसको सम्भाव्यता र दीर्घकालीन प्रभावसहित गुरुयोजनाबारे छलफलसमेत गरे ।

काठमाडौंको ट्राफिक चाप घटाउन, क्षेत्रीय सम्पर्क बढाउन, वातावरणीय प्रदूषण घटाउन, सहरी विकास, रोजगारी र अर्थतन्त्र सुधारका लागि रेल जरुरी भएको मेट्रो रेल विकासको गुरुयोजना सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका सिभिल इन्जिनियर डा. विनोदलाल अमात्य बताउँछन् । ‘यसले सहर पुनर्जागृत (अर्बन रि–जेनेरेसन) पनि हुन्छ । मोबिलिटी बढेपछि उत्पादनशीलता पनि बढ्छ,’ इन्स्टिच्युसन अफ सिभिल इन्जिनियर्सका फेलोसमेत रहेका उनले भने ।

गुरुयोजनामा काठमाडौं उपत्यकामा पाँच लाइन– काठमाडौं लाइन (बनेपा, धुलिखेल, कोटेश्वर, भृकृटीमण्डप भएर थानकोट), पाटन लाइन (गोदावरीदेखि भृकुटीमण्डप, बुढानीलकण्ठ), विष्णुमती लाइन (दक्षिणकाली, चोभार, बल्खु, टंकेश्वर, नयाँ बसपार्क, धर्मस्थली), चक्रपथ लाइन (रिङरोड आसपास) र भ्याली लाइन (आउटर रिङरोड) प्रस्ताव गरिएको छ ।

यो कुल १९२.५ किमि लामो हुनेछ भने ८५ किमि भूमिगत टनेल र १०७.५ किमि ओभरहेड (जमिनमाथि) हुनेछ । यसमा अन्डरग्राउन्ड स्टेसन ३९ र ओभरग्राउन्ड स्टेसन ४९ रहनेछन् । ३६.५ किमि दूरीको काठमाडौं लाइन बनाउन २.६ बिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यसमा १५ किमि टनेल र २१.५ किमि जमिनमाथि हुनेछ । ओभरग्राउन्ड स्टेसन १२ र अन्डग्राउन्ड स्टेसन ९ वटा रहनेछन् ।

गोदावरीदेखि भृकुटीमण्डप, बुढानीलकण्ठ जाने २६ किमि लामो पाटन लाइनमा १४.५ किमि टनेल र ११.५ किमि जमिनमाथि बनाउनुपर्ने डा. अमात्यको सुझाव छ । यसको 
ओभरग्राउन्ड स्टेसन ९ र अन्डरग्राउन्ड स्टेसन ११ रहनेछन् । यसको अनुमानित बजेट २ अर्ब अमेरिकी डलर छ । काठमाडौं लाइन सञ्चालन खर्च १७ देखि ४३ मिलियन डलर वार्षिक र पाटन लाइनका लागि १२ देखि ३१ मिलियन अमेरिकी डलर लाग्ने अनुमान छ । निजी व्यावसायिक प्रतिष्ठान, सफ्ट लोन, वैदेशिक लगानी, करदाता आदिबाट बजेट जोहो गर्न सकिने जनाइएको छ, इकान्तिपुरमा खबर छ ।


2 thoughts on “बेलायतका इन्जिनियरले देखाए थानकोटबाट बनेपासम्म मेट्रो रेल चल्ने आधार

  1. काठमाडौं उपत्यका लगायत यसका छेउछाउका जिल्लाहरुमा Mini-railको आवश्यकता नै के छ र । यहाँ चलायमानका स्थानिय बस सेवा विस्थापन मात्र हैन यसले मानिसहरुका घर जग्गा जमिन लिएर नाङ्गेझार बनाउनु बाहेक केहीलाई चाहिँ विकास भएको अनुभूति देखिन्छ होला । अनि यसको लागि कुनै विश्व बैंकबाट ऋण उठाएर नेपालीहरुको टाउकोमा ऋणको मात्रा थप हुने त होला नि ।

  2. बनाउनु ठुलाे कुरा हाेइन पैसा हुनु पर्छ जे जस्ताे पनि बनाउन सकिन्छ।
    उदाहरण – अरब देश पैसा छ , तर प्रबिधिक छ त अरबि संग ।
    नेपाल आफै गरिब देश सपना ठुलाे नदेखेकै राम्रो । बरू पहिला देशलाई आर्थिक रूपले , आत्मनिर्भर बनाउ अनि बन्नेछ जस्ताे चाहे उस्त‌ै सम्रचना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ