नेपाल प्रिमियर लिगका लागि टिकट मूल्य तय

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका निम्ति टिकट मूल्य तय भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक विज्ञप्तिमार्फत प्रतियोगिताका निम्ति टिकटदर कायम गरिएको जनाएको हो ।

क्यानका अनुसार, प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरू हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्ने छ । 

यस्तै, प्रतियोगिताको प्लेअफ खेलका दौरान सामान्यतर्फ ५०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य तोकिएको छ । प्रतियोगिताको फाइनलका निम्ति भने सामान्यतर्फ ५०० रुपैयाँ नै रहँदा भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ । क्यानले सिजनल पास खरिद गर्ने समर्थकलाई २० प्रतिशत छुट दिएको छ । जसअनुसार समर्थकले सामान्यतर्फ चार हजार ४८० रुपैयाँ र भीआईपीतर्फ आठ हजार २४० रुपैयाँमा सिजनल पास किन्न सक्ने छन् । क्यानले सिजनल पास खरिद गर्ने दर्शकलाई एक्रिडिटेसन कार्ड र आधिकारिक मर्चन्डाइजको व्यवस्था गरिने समेत जनाएको छ ।

क्यानले प्रतियोगिताका निम्ति आज (मंसिर १० गते) राति ८ बजेदेखि टिकट डिजिटल पे वालेट खल्तीबाट खरिद गर्न सकिने जनाएको छ । 

क्यानको आयोजनामा हुन लागेको एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ गतेसम्म सञ्चालन हुने तालिका छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको पहिलो संस्करणमा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *