चन्द्रागिरि पत्रकार संघ गठन, तदर्थ समितिमा सर्वसम्मत रुपमा जिम्मेवारी बाँडफाँड

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमै पहिलोपटक सञ्चारकर्मीहरूको साझा संस्था गठन भएको छ । 

चन्द्रागिरि नगरपालिका क्षेत्रमा क्रियाशील सञ्चारमाध्यमसँग सम्बन्धित सञ्चारकर्मीहरूको सामुहिक हितका लागि छाता संगठन निर्माणको कार्यले मूर्त रुप लिएको हो ।

नगर क्षेत्रलाई मुख्य कार्य क्षेत्र बनाई सञ्चालनमा रहेका सञ्चार माध्यमहरूका सञ्चालक, सम्पादक तथा ती संस्थामा कार्यरत सञ्चारकर्मी तथा प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले चन्द्रागिरि पत्रकार संघ गठन गर्ने निर्णय गरेको हो ।

साथै, बैठकले भावी कार्यदिशा एवं योजना तर्जुमाका लागि पदाधिकारी चयन गरेको छ ।

प्रारम्भिक चरणमा संघको नेतृत्व श्याम बलामीले गर्ने सर्वसम्मत निर्णय भएको छ । संघका अन्य पदमा समेत सर्वसम्मत भएका छन् । जसमा उपाध्यक्षमा विनोद लामिछाने, सचिवमा जीवन नेपाल, कोषाध्यक्षमा गोपाल पाठक,सदस्यहरूमा संजयदेव महर्जन, अखबर श्रेष्ठ, नेशन महर्जन रहेका छन्।

हाल चन्द्रागिरि नगर क्षेत्र आधार बनाई सञ्चालनमा रहेका सञ्चार माध्यमहरू थानकोट टाइम्स, चन्द्रागिरि न्यूज, चन्द्रागिरि सन्देश, चन्द्रागिरि टेलिभिजन, आवर न्यूज क्रिउ, शोणितपुर खबरचन्द्रागिरि मेट्रो का प्रतिनिधिहरू सम्मिलित बैठकले चन्द्रागिरि पत्रकार संघ गठन गरेको हो ।

यद्यपी, चन्द्रागिरि नगरमा क्रियाशील रहेका तर प्रारम्भिक चरणमा समेट्न नसकिएका सञ्चार संस्था तथा  प्रतिनिधिहरूलाई क्रमशः संघमा आबद्ध गरी सबैको साझा संस्थाको रूपमा संस्था विकास गर्ने संघको लक्ष्य छ ।

संघले ६ महिनाभित्र संस्था दर्ता एवं नीतिगत व्यवस्थाका लागि रणनीति तयार गर्ने निर्णय समेत गरेको छ ।

चन्द्रागिरि नगरमा करिब ६ दर्जन सञ्चार माध्यमहरू दर्ता भएको प्रेस काउन्सिल नेपालको अभिलेखमा उल्लेख छ । तथापी, दर्ता भएका मध्ये निकै कम संस्थाहरू मात्रै क्रियाशील भएको देखिन्छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *