पाटन दरबार क्षेत्रमा अस्ट्रियन कलाकारको देखाए प्यान्टोमाइम (फोटो फिचर)
थानकोट ।
अस्ट्रियाका ख्यातिप्राप्त कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले नेपालमा प्यान्टोमाइम प्रस्तुति दिएका छन् ।
पाटन दरबार क्षेत्रस्थित पाटन संग्राहलयमा बुधबार आयोजित एक समारोहमा रंगमञ्चीय प्रस्तुति (प्यान्टोमाइम) मार्फत दर्शकलाई कलाकारद्वयले मन्त्रमुग्ध पारेका हुन् ।
कला र संस्कृतिको माध्यमबाट नेपाल र अष्ट्रिया बीचको जनस्तरीय सम्बन्ध प्रगाढ बनाउने तथा दुई मुलुकको आपसी समझदारीलाई अझ बलियो बनाउने उद्देश्यले नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो ।
सो सांस्कृतिक पहलले नेपाल र अस्ट्रियाबीचको बलियो सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । “कूटनीति राजनीतिक र आर्थिक सम्बन्ध मात्र होइन; सांस्कृतिक आदानप्रदान, समझदारी निर्माण र मुलुकहरुबीचको मित्रताको सबलीकरणबाट पनि यो फस्टाउँछ” नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले भने ।
यस्ता कार्यक्रमले एकअर्काको सांस्कृतिक पहिचानबारे ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपालसँगको मित्रताप्रति मित्रराष्ट्र अस्ट्रियाको प्रतिबद्धता झल्काउने पनि उनले बताए ।
नेपालकै पहिलो केबलकार सेवा मनकामना केबलकारको प्रायोजन तथा नेपालका लागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोग रहेको सो कार्यक्रममा नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावास अन्तर्गतको अस्ट्रियन कल्चरल फोरमका डाइरेक्टर माइकल पल र उनकी श्रीमती इरेना पल पनि सहभागी थिए ।
प्यान्टोमाइम प्रस्तुतिमा कलाकारको अनुहारको भाव र शारीरिक हाउभाउमार्फत कथा प्रस्तुत गरिन्छ ।
यसअघि पनि कैयौंपटक सफलतापूर्वक सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न गरिसकेको अस्ट्रियन दूतावासले अगाामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।