धैर्यताको बाँध टुटेपछि कीर्तिपुर नगर उपप्रमुखको कक्षमा आक्रोश पोखिएको हो- वडाध्यक्ष महर्जन
थानकोट ।
गत शनिबार कीर्तिपुर नगरपालिका कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा तोडफोड भएको विषयमा कीर्तिपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले प्रष्टीकरण दिएका छन् ।
कार्तिक ३० गते शनिबारको घटना धैर्यताको बाँध टुटेपछिको आक्रोश भएको वडाध्यक्ष महर्जनको भनाइ छ ।
कीर्तिपुर वडा नं. ३ अन्तर्गतको बाटो विस्तार योजना कार्यान्वयका लागि नगरपालिका कार्यालयबाट चार महिनासम्म कुनै पहल नभएपछि शनिबार सो घटना हुन पुगेको उनको भनाइ छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष महर्जनले वडा नं. ३ अन्तर्गतको बाटो विस्तार योजनाका सन्दर्भमा सम्बन्धित पक्ष (प्रमुख प्रशासकीय अधिकृत लगायत) सँग भेट्न खोज्दा लामो प्रतिक्षा गर्दा पनि समय उपलब्ध नभएपछि नगर उपप्रमुखको कक्षमा रहेको टेबल फुटाइएको बताए । उनले शनिबारको घटनापछि सोही दिन वडा नं. ३ को सडक योजनाका सन्दर्भमा नगरपालिकाबाट सूचना जारी भएको समेत जानकारी दिए ।
कार्यवाहक मेयरको सचिवालयमा भएको सो घटना दुःखद भएको बताउँदै वडाध्यक्ष महर्जनले ५ मिनेटमै सम्पादन गर्न सकिने कार्यका भोलि-भोलि भन्दै सेवाग्राहीलाई दुःख दिन नहुने बताए ।
घटना सानो भएपनि अतिरञ्जित गरि ठूलो मुद्दा बनाउन केही तत्व लागेको भन्दै वडाध्यक्ष महर्जनले एकपक्षीय समाचार नबनाइदिन पनि अनुरोध गरे ।
वडाध्यक्ष महर्जनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनको भिडिओ हेराैंः