नागढुङ्गा-कलंकी सडकमा न जेब्रा क्रस न लेन मार्किङ, भगवान भरोसामा सडक प्रयोगकर्ता
थानकोट ।
संघीय राजधानी काठमाडाैंलाई मोफसलसँग सम्पर्क स्थापित गर्ने प्रमुख सडक मार्ग नागढुङ्गा-थानकोट-कलंकी सडक खण्डमा जेब्रा क्रसिङ र लेन मार्किङ नहुँदा पैदल यात्री र सवारी साधन भगवान भरोसामा गन्तव्यतर्फ लाग्न बाध्य छन् ।
सडक खण्डका कतिपय स्थान (गुर्जुधारा, चेकपोष्ट सतुङ्गल, थानकोट, नैकाप लगायत) मा पैदल यात्रीका लागि फुटपथ नहुँदा सडकमै हिंड्नुको विकल्प छैन् ।
नागढुङ्गा-थानकोट-कलंकी सडक खण्डका करिब ५० स्थानमा जेब्रा क्रसिङ भएको देखिन्छ यद्यपी करिब ९ किलोमिटर दूरीमा कतै जेब्रा क्रसिङ सग्ला छैनन् ।
गज्जबको कुरा त दैनिक हजाराैं सवारी साधन ओहोर दोहोर गर्ने यस सडकमा स्पष्ट लेन मार्किङ समेत देख्न मुस्किल छ ।
यस सडक खण्ड किनारमा दर्जनाै विद्यालय छन् जसका कारण विद्यार्थीहरू समेत जोखिमपूर्ण रुपमा सडक प्रयोग गर्न बाध्य छन् ।
कलंकी-थानकोट-नागढुङ्गा सडकमा यातायात व्यवस्थापन गर्ने जिम्मेवारी ट्राफिक प्रहरी प्रभाग नागढुङ्गा, ट्राफिक प्रहरी प्रभाग थानकोट र ट्राफिक प्रहरी प्रभाग कलंकीलाई छ।
सम्बन्धित ट्राफिक युनिटहरूको तथ्यांक हेर्दा लेन मार्किङ र सडक सुरक्षा संकेत नहुँदा यस क्षेत्रमा सवारी तथा सडक दुर्घटनाको ग्राफ दिनहुँ उकालो लागेको देख्न सकिन्छ ।
नागढुङ्गा ट्राफिक प्रभागका अनुसार असोज १ देखी कार्तिक मसान्तसम्म सो प्रभागको कार्य क्षेत्र (बाँडभञ्ज्याङ- पिपलामोड) मा साना ठूला गरी २१ वटा दुर्घटना भएका छन् जसमा अधिकांश चार पांग्रे सवारी साधन दुर्घटनामा परेका छन् । ती घटनामा चार जना यात्रु घाइते भएका छन् । सो कार्यालयका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र कुमार साहका अनुसार चालकको लापरबाही तथा सडकको अवस्थाका कारण ती दुर्घटना भएको देखिएको छ । नागढुङ्गा चोकमै जेब्रा क्रसिङको अवस्था टिठलाग्दो छ साहले भने । यस्तै बाँडभञ्जाङ, कोइराला थोक, पेट्रोल पम्प क्षेत्रमा भएको जेब्रा क्रसिङ नाउँ मात्रैको देखिन्छ ।
थानकोट ट्राफिक प्रभागका अनुसार असोज १ देखी कार्तिक मसान्त सम्म सो प्रभागको कार्य क्षेत्र (बाँडभञ्ज्याङ-बल्खु पुल) अन्तर्गत साना ठूला गरी १२ वटा दुर्घटना भएका छन् ।
प्रभागका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक कृष्णप्रसाद पाैडेलका अनुसार चालकको लापरबाही तथा सडकको अवस्थाका कारण ती दुर्घटना भएको देखिएको छ । टुटेपानी, सरस्वती थान, थानकोट, त्रिभुवन पार्क, चेकपोष्ट, खानेपानी चोक, दाउरा डिपो, गुर्जुधारा, सतुङ्गल, बालकुमारी वस्ती, सिप्रदी, बल्खु पुल भएका जेब्रा क्रसिङ खोज्न अहिले दूरबिन लगाउनु पर्ने अवस्था छ । दुरसञ्चार क्षेत्रमा नागढुङ्गा सुरुङमार्ग अन्तर्गतका संरचना निर्माण भइरहँदा सो क्षेत्रको सडक सुरक्षाको विषय बयान गरी साध्य छैन् ।
नैकाप, तीनथाना, ढुङ्गे अड्डा, ढुङ्गे अड्डा ओरालो, खड्कुले पुल लगायतमा भएका जेब्रा कस सडकको किनारमा मात्रै देखिन्छन् बीच सडकका मार्किङ मेटिइसकेका छन् ।
ट्राफिक प्रहरी प्रभाग कलंकी प्रमुख प्रहरी निरीक्षक अभय लामाले सडक संकेत, सुरक्षा संकेत चिन्हका बारेमा सम्बन्धित निकायमा पटकपटक जानकारी गराइएपनि समस्या समाधान नभएको बताए ।
सडक बीचमा खाडल
नागढुङ्गा-कलंकी सडक खण्डका कैंयन क्षेत्रमा सडक बीचमा खाडल पर्दा दुर्घटनाको अर्को जोखिम थपिएको छ ।
नागढुङ्गा, बाँडभज्याङ, सरस्वतीस्थान, थानकोट, त्रिभुवन पार्क, चेकपोष्ट, पाउरोटी कारखाना चोक, गुर्जुधारा, सतुङ्गल, नैकाप उकालो, ब्राइट फ्यूचर, तीनथाना लगायतका स्थानमा सडकमा खाडल परेका छन् । जसका कारण सवारी साधन जुनसुकै बेला गम्भीर दुर्घटना निम्तने निश्चित छ । उसो त यस क्षेत्रमा सडक बत्तिको व्यवस्थापन भरपर्दो नहुँदा रातो समयमा पैदलयात्री तथा सवारी साधन सधैंजसो जोखिममा पर्ने गरेका छन् ।
हाम्रो खबरदारी जारी छ- नगर प्रवक्ता
नागढुङ्गा-कलंकी सडक खण्डको दुरावस्थाका बारेमा चन्द्रागिरि नगरका प्रवक्ता कृष्ण प्रसाद खड्गी भन्छन् मूख्य राजमार्गमा स्थानीय निकायले किला गाड्ने अनुमति समेत पाएको छैन् । त्रिभुवन राजपथले चन्द्रागिरि नगरपालिका १५ मध्ये ११ वटा वडाले त्रिभुवन राजपथ छुन्छ ।
यो सडक संघीय सरकार अन्तर्गत सडक विभागको काठमाडाैं डिभिजन मातहत रहेकोले चन्द्रागिरि नगरपालिकाले चाहेर पनि सुधार गर्न सक्ने अवस्था छैन् । हामी सम्बन्धित निकायमा सडक प्रयोग कर्ताले भोग्न परेको समस्या, गुनासा सुनाएको सुनायै छाैं, आशा गराैं केही सुधार हुनेछ ।
हाम्रो तर्फबाट सडकको बीचमा भएका बेल्टमा बिरुवा संरक्षण मात्रै गर्न सकिएको छ, प्रवक्ता खड्गीले भने ।
रोड मार्किङको कार्य दोश्रो चरणमा, अहिले सडकको नाली खोल्ने काम भइरहेको छ- सडक विभाग
सडक डिभिजन कार्यालय काठमाडाैंले अहिले थानकोट-कलंकी सडकको दायाँ बायाँ रहेका नाली खोल्ने कार्य जारी रहेको जनाएको छ । चन्द्रागिरि नगरपालिकाको अनुरोध एवं विभागको नियमित तालिका अनुसार पहिलो चरणमा अहिले सडकको दायाँबायाँको नाली खोल्ने कार्य भइरहेको सडक विभागका एक प्राविधिकले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा सडकको नाली सफाइको कार्य जारी छ, दोश्रो चरणमा सडकको लाइनिङ, जेब्रा क्रसिङ, सडक सुरक्षा संकेत व्यवस्थापन हुनेछ ।