मैत्रीपूर्ण फुटबल: नेपालको पोष्टमा ताजकिस्तानको ४ गोल
थानकोट ।
अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल ताजकिस्तानसँग ४-० गोलले पराजित भएको छ।
खेल सेन्ट्रल रिपब्लिकन रंगशालामा घरेलु टोली ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले २/२ गोल गरे।
नेपालले पहिलो हाफमा ३ गोल खायो भने दोस्रो हाफमा एक गोल खाएको थियो।
१९औँ मिनेटमा माबत्शोएवले गरेको गोलबाट ताजकिस्तानले खेलमा अग्रता लिएको थियो।
१० मिनेटपछि नै जालिलोभले टोलीको अग्रता दोब्बर बनाए।
पहिलो हाफको अन्तिम मिनेटमा माबत्शोएवले व्यक्तिगत दोस्रो गोल गर्दा ताजकिस्तान ३-० ले अग्रता लियो। ५०औँ मिनेटमा जालिलोभले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० बाट जिताए।
यही खेलमार्फत मिडफिल्डर रोहन कार्कीले सिनियर टोलीबाट अन्तरराष्ट्रिय खेलमा डेब्यू गरेका छन्। उनले आज पहिलो रोजाइमै खेल्ने अवसर पाए।
अब नेपालले शनिवार अफगानिस्तानसँग खेल्नेछ।