पृथ्वी राजमार्गअन्तर्गत छिर्कने-देउराली सडकखण्ड रातको समय दैनिक ४ घण्टा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

 स्तरोन्नतिको चरणमा रहेको पृथ्वी राजमार्र्गको तनहुँ खण्ड रातीको समयमा बन्द हुने भएको छ।

पूर्वी खण्ड अन्तर्गत पर्ने छिर्कनदेखि देउरालीसम्म रातिको समयमा बन्द गरेर निर्माण कार्यलाई तिव्रता दिन लागिएको हो।

मंसिर ३ गतेदेखि २३ गतेसम्म सडक बन्द गरेर काम गर्ने सूचना जारी गरिएको छ। राति ११ बजेदेखी विहान १ बजेसम्म सडक पूर्ण रुपमा बन्द गरी सडक निर्माणको काम गरिने सूचना उल्लेख छ। विहान १ बजेदेखि साढे १ बजेसम्म सडक आवगमन खुल्ला गरिनेछ। यस्तै, दोस्रो चरणमा विहान साढे १ बजेबाट ४ बजेसम्म सडक बन्द गरी सडक निर्माण हुनेछ। त्यसपछि दिनैभर सडक पूर्ण रुपमा सूचारु हुनेछ।

अत्यावश्यक सवारीवाहेक अन्य सवारी साधनका लागि उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहने जनाइएको छ। यो अवधिमा सवारी रोक्दा र सवारी चलाउदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नु आयोजनाले अनुरोध गरेको छ। सवारी लामवद्ध भएको अवस्थामा जथाभावी ओभरटेक गरे कडा कारबाही हुने सूचनामार्फत चेतावनी दिइएको हो।

पृथ्वी राजमार्गको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०८१ बैशाखसम्म काम सक्ने सम्झौतामा उल्लेख भएपनि हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको छ। कोरोनाको असर देखाएर २०८१ फागुन १ गतेसम्मलाई म्याद थप भएको छ।

एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा चार लेनमा विस्तार गर्न लागिएको सडक निर्माणको काम थपिएको मितिमा पनि सम्पन्न नहुने निश्चित छ।

४१.४५ किलोमिटर दूरीको यो सडक खण्डमा ठेकेदार कम्पनीले हालसम्म ६३ किलोमिटर एकतर्फी सडक कालोपत्र गरेको छ। १३ वटा साना पुल बनाएर सकिएको छ भने ३ वटा ठूला पुल निर्माणाधीन छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *