विश्वकपमा छनोट भएको यू-१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई
थानकोट ।
पहिलोपटक विश्वकपमा छनोट भएको नेपालको यू-१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालनमार्फत भनेका छन्, “महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्नेछ बधाई टिम नेपाल ।”
आज संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा भएको खेलमा आयोजक युएईमाथि आठ विकेटको ऐतिहासिक जीत निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको हो । नेपालले ६ खेलबाट १० अंक जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । यू–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ ।
आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागिसमेत नेपाल छनोट भएको हो । यू–१९ एसिया कप क्रिकेटमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बांङ्लादेश र मलेसिया सहभागी हुनेछन् ।
यसैबीच नेपाली यू-१९ महिला क्रिकेट टिमले आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यू-१९ महिला एसिया कप खेल्ने भएको छ ।
एसियाली क्रिकेट परिषद (एसीसी) ले बुधबार यू-१९महिला एसिया कपको मिति र खेलतालिका सार्वजनिक गरेको हो ।
जसअनुसार प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म हुनेछ ।प्रतियोगितामा ६ टोली सहभागी हुनेछ ।
नेपाल भारत र पाकिस्तानसँगै समूह ए मा छ । बंगलादेश, श्रीलंका र मलेसिया समूहबी मा छन् ।
नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र दोस्रो खेल डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।
दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछ ।
सुपर फोरले सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
बुधबारै आईसीसी यू-१९ महिला टी-२० विश्वकिमा छनोट भएर इतिहास रचेको नेपाली युवा महपला टोलीले छिटै अर्को ठूलो प्रथियोगिता खेल्ने भएको हो ।