बागमती प्रदेशमा फेरि मन्त्रालय फुटाउने निर्णय, मन्त्रालयको संख्या १४ पुग्यो
थानकोट ।
बागमती प्रदेश सरकारको आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालयको संख्या बढाएको हो । यससँगै प्रदेशमा मन्त्रालयको कुल संख्या १४ पुगेको छ ।
९ साउनमा मुख्यमन्त्री लामासँगै श्रेष्ठले शपथ लिएका थिए ।
बागमतीमा मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय र मन्त्रिपरिषद् १४ सदस्यीय थियो ।
मन्त्रालय नतोकिएका कारण विना विभागीय मन्त्री श्रेष्ठ विगत साढे ३ महिनादेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा कोठामा बस्दै आएका थिए ।