यू-१९ महिला टी-२० विश्वकप एसिया छनौट प्रतियोगितामा नेपालको तेस्रो जित
आईसीसी अन्डर नाइन्टिन महिला टी-ट्वान्टी विश्वकप एसिया छनौटमा नेपालले तेस्रो जित हात पारेको छ ।
आफ्नो चौथो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको हो । यस प्रतियोगितामा थाइल्यान्डविरुद्ध नेपालको यो दोस्रो जित हो ।
नेपालको जितमा ओपनर साना प्रविणले अर्धशतकीय इनिङ्स खेलिन् । नेपाली बलर सामु थाइल्यान्डका ब्याटरहरुले कमजोर प्रदर्शन गरे ।
यूएईस्थित सेभेन्स स्टेडियममा टस जितर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि सावित्री धामी र साना प्रविणले १३ ओभरमा ८८ रनको ओपनिङ साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । सावित्रीले २८ रनको योगदान दिइन् । कप्तान पूजा महतो ४ रनमा आउट भइन् । सोनी पाख्रिन १९ रनमा रनआउट भइन् ।
साना प्रविणले ४६ बलमा ७ चौकाको मद्दतमा ५३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । जारी प्रतियोगितामा नेपालका लागि कुनै पनि खेलाडीले बनाएको यो नै पहिलो अर्धशतक हो । उत्कृष्ट सुरुवातका बाबजुद फिनिसिङमा चुके पनि नेपाली युवा टोली ठूलो योगफल तयार पार्न सफल भयो ।
थाइल्यान्डका लागि नाथरिका थोकोईले ३ तथा केसिनी काउजुम्फोलले २ विकेट हात पारे ।
१ सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको थाइ टोलीले १६ ओभरमा सबै विकेट गुमाएर ३३ रन मात्र बनाउन सक्यो । नेपालको कसिलो बलिङ आक्रमण सामु थाइल्यान्डका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका लागि कुसुम गोदारले ४ ओभरमा ९ रन खर्च गरेर ३ विकेट लिइन् । रिया शर्मा र रचनाकुमारी चौधरीले २–२ विकेट हात पार्दा पूजाको नाममा १ विकेट रह्यो । नेपालले थाइल्यान्डविरुद्धको पहिलो खेल ६७ रनले जितेको थियो ।
प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् । सहभागी चार टोली मध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले मंगलबार कुवेत र अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।