नैकापस्थित ब्राइट फ्यूचर माविमा स्टुडेन्ड क्वालिटी सर्कल (एसक्यूसी) सम्मेलन जारी
थानकोट ।
नैकापस्थित ब्राइट फ्युचर माविमा देशका विभिन्न स्थानमा सञ्चालित ७४ विद्यालयबाट पाँच सयभन्दा बढी विद्यार्थी, शिक्षक शिक्षिका, विभिन्न विश्वविद्यालयका प्राध्यापक, देशी विदेशी पर्यवेक्षक लगायतको उपस्थितिमा स्टुडेन्ड क्वालिटी सर्कल (एसक्यूसी) सम्मेलन सुरु भएको छ ।
क्वेस्ट नेपालको आयोजना एवं ब्राइट फ्युचर माविको सहआयोजनामा हिजो शनिबारबाट सुरु भएको स्टुडेन्ड क्वालिटी सर्कल (एसक्यूसी) को १८औं सम्मेलनका लागि यतिका संख्यामा विद्यार्थी तथा प्रतिनिधिहरू सहभागी भएको आयोजकले जनाएको छ ।
भोलि सोमबारसम्म सञ्चालन हुने कार्यत्रममा देशका २८ वटा हबबाट छानिएका विद्यार्थी प्रतिनिधिले विद्यार्थी गुणीय चक्रको कार्य प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको क्वेस्ट नेपालका प्रमुख संरक्षक दिनेशप्रसाद चापागाईंले जनाए ।
‘हामीले विगतमा कक्षा सम्मेलन, विद्यालय सम्मेलनलगायत विभिन्न हबको सम्मेलनमार्फत राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘यस वर्ष भने कार्यप्रतिवेदनलगायत तालिका छन् ।’ क्वेस्ट नेपालका प्रमुख संरक्षक चापागाईं एवं पूर्वमन्त्री तथा संघीय सांसद कृष्णगोपाल श्रेष्ठले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरे ।
विद्यार्थीको चौतफर्फी एवं बहुआयामिक व्यक्तित्व विकासका लागि यो कार्यत्रम अति नै प्रभावकारी रहेको ब्राइट फ्युचर माविका अध्यक्ष मोहन कार्कीले जनाए ।
देशका विभिन्न ७४ विद्यालयबाट ४ कक्षादेखि १० कक्षासम्मका पाँच सयभन्दा बढी विद्यार्थीले भाग लिएको कार्यक्रममा १०० पर्यवेक्षक, श्रीलंकाबाट अन्तर्राष्ट्रिय पर्यवेक्षक, शिक्षकशिक्षिका, विश्वविद्यालयका प्राध्यापक तथा शिक्षाविद्हरूले सहभागिता जनाएको उनले बताए । सम्मेलनमा विद्यार्थीका गायन, नृत्य आदि सांगीतिक कार्यक्रमसमेत छन् ।
एक सयभन्दा बढी विद्यालयमा सहपाठ्यक्रम तथा पाठ्यक्रमका रूपमा विद्यार्थी गुणीय चक्रको सञ्चालन तथा पठनपाठन भइरहेको र यो सिकाइका लागि बहुउपयोगी रहेको उनको भनाइ छ ।
विश्वका २५ भन्दा बढी देशमा एसक्यूसी कार्यक्रम लोकप्रिय छ । विद्यार्थी गुणीय चक्रको अवधारणा नेपालमा चापागाईंले सन् १९९९ मा ल्याएका हुन् ।
विद्यार्थी गुणीय चक्रको १८ औं राष्ट्रिय सम्मेलनको उट्घाटन सत्र अघि चन्द्रागिरि नगर क्षेत्रका विभिन्न ठाउँमा स्थानीय बाजागाजा र साँस्कृतिक झाँकीसहित प्रभातफेरी समेत गरिएको थियो ।
सम्मेलनको दोश्रो दिन आज आइतबार बिहानी सत्रका सेशन सुरु भइसकेका छन् ।