बागमती प्रदेशमा नयाँ सरकारको १ सय दिन पूरा, एक मन्त्री सय दिनदेखी जिम्मेवारी विहिन
थानकोट ।
बागमती प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेको एक सय दिन पूरा भइसकेको छ ।
सङ्घमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा सरकार परिवर्तन भई कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बनेको कात्तिक १५ गते एक सय दिन पूरा भएको हो ।
बहादुरसिंह लामा तामाङको नेतृत्वमा गत साउन ९ गते मन्त्रीपरिषद् गठन हुँदा पछि जिम्मेवारी तोकिने भन्दै बिना विभागीयमन्त्रीमा नियुक्त मदुकुमार श्रेष्ठ सरकार गठन भएको एक सय दिनभन्दा बढी भइसक्दा पनि अझै जिम्मेवारीविहीन हुनुहुन्छ । लामाको सिफारिसमा पहिलो चरणमा गत साउन ९ गते १० सदस्यीय मन्त्रीपरिषद् बनाइएको थियो ।
कांग्रेस र एमालेबिचको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सात मन्त्रालय र एमालेले छ वटा मन्त्रालय भागबन्डा गरेकोमा एमालेले भागमा परेका मन्त्रालयमा जिम्मेवारीसहित मन्त्री पठाएको थियो । उता कांग्रेसबाट भने जिम्मेवारी पछि तोकिने गरी कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मदुकुमार श्रेष्ठ मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
दोस्रो पटक मन्त्रीपरिषद् विस्तारसँगै यसअघि कांग्रेसबाट मन्त्री बनेका काफ्ले र खड्कालाई मन्त्रालयको जिम्मेवारी दिएर कार्यविभाजन गरिए पनि बिनाविभागीयमन्त्रीमा नियुक्त धादिङका श्रेष्ठको दोस्रो पटक मन्त्रीपरिषद् पुनर्गठन एवं कार्यविभाजन हुँदासमेत मन्त्रालय तोकिएको छैन ।
यो अवधिमा दोस्रो पटक मन्त्रीपरिषद् विस्तार भएर सरकारले पूर्णता पाएसँगै कांग्रेसबाट मन्त्री भएकाले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् तर मन्त्री श्रेष्ठ सरकारले एक सय दिन पूरा गर्दासमेत अझै मन्त्रालयविहीन हुनुहुन्छ ।
प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेसँग हरेक पटक मन्त्रीपरिषद्को बैठकपछि मन्त्रीपरिषद् बैठकबारे जानकारी गराउन हुने पत्रकार सम्मेलनको एउटा प्रश्न बिनाविभागीयमन्त्रीलाई कहिले जिम्मेवारी दिने तयारी छ ? भन्ने हुन्छ । मन्त्री लामिछानेको उही र उस्तै जवाफ हुन्छ, “जिम्मेवारी दिने विषयले मन्त्रीपरिषद् बैठकमा प्रवेश पाएको छैन, अनौपचारिक रूपमा मात्र छलफल भइरहेको छ ।” मन्त्री लामिछानेले अबको मन्त्रीपरिषद् बैठकबाट बिनाविभागीयमन्त्री श्रेष्ठलाई कुनै मन्त्रालयको जिम्मेवारी दिने गरी छलफल र तयारी भइरहेको जानकारी दिनुभयो ।
बिनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ, मन्त्री लामिछानेले भन्नुभयो, “मन्त्रीलाई कुन मन्त्रालय र कसरी जिम्मेवारी दिने भन्नेबारे अब अर्को साता बस्ने क्याबिनेटबाट निर्णय हुन्छ ।” उहाँले अगाडि भन्नुभयो, “सधैँभरि यसरी राखेर हुँदैन कुनै मन्त्रालयको जिम्मवारी दिने गरी तयारी भइरहेको छ, यसबारे मुख्यमन्त्रीसँग पनि छलफल भएको छ ।”
उता मन्त्री श्रेष्ठले भने आफू काम गर्न आएको तर जिम्मेवारी नपाएको भन्दै आउनुभएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बिनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिनेबारे छलफल भइरहेको र छिट्टै टुङ्गो लाग्ने भन्नुभएको दुई महिना बितिसकेको छ । मुख्यमन्त्री लामाले मन्त्रालय थपेर बिनाविभागीयमन्त्रीलाई जिम्मेवारी दिने गरी छलफल भइरहेको बताउँदै आउनुभएको छ, गोरखापत्र दैनिकमा खबर छ ।