२०७९ सालकाे निर्वाचनमा कीर्तिपुर नगरमा कुन दलले कति मत पाएका थिए ?
थानकोट ।
यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहकाे उपनिर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्रका तर्फबाट उम्मेदवारी घाेषणा हुने क्रम जारी छ।
कीर्तिपुर नगरपालिकामा पनि प्रमुख र वडा नं १ र ४ मा रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैैछ ।
कीर्तिपुरमा नेपाली कांग्रेसबाट नगरप्रमुख जितेका राजकुमार नकर्मीको निधनपछि उक्त पद रिक्त छ ।
२०८१ साउन १० गते उनको निधन भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित नकर्मीको उपचारका कममा निधन भएको हो ।
अहिलेसम्म कीर्तिपुर नगरमा उपनिर्वाचनका लागि नेकपा एमाले, नेकपा माओवादी केेन्द्र र राप्रपाले उम्मेदवार चयन गर्दा अन्य दलबाट उम्मेदवार चयन हुन बाँकी छ।
कीर्तिपुर नगरमा २०७९ को स्थानीय तह निर्वाचनमा राजकुमार नमर्मीले नौ हजार ४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत पाएका थिए । उनीहरूबीचको मतान्तर तीन हजार ५३६ थियो ।
त्यहाँ माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ९०, नेकपा (एकीकृत समाजवादी)का बटुकृष्ण थापाले एक हजार १५३ मत ल्याएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जितबहादुर बिष्टले ५७२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्र उमेदवार मनोज बुढाथोकीले ३६५, नेपाली कांग्रेस (बीपी)का प्रविद् खनालले ८१ मत प्राप्त गरेका थिए ।
यस्तै, आमूल परिवर्तन मसिहा पार्टीका श्यामकाजी महर्जनले २१, स्वतन्त्र उमेदवार भीमकुमार महर्जनले १३ मत ल्याएका थिए ।