यु-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटः नेपालको विजयी सुरुवात, थाइल्यान्ड ६७ रनले पराजित

Thankot Times

थानकोट ।

यु-१९ महिला विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ । युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा कप्तान पुजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले थाइल्यान्डलाई हराएको हो ।

बुधबारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले थाईल्यान्डमाथि ६७ रनको फराकिलो जित निकाल्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको थाईल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयो । थाईल्यान्डका ओपनर तथा कप्तान अफिसाराले १३ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि रचना चौधरीले ४, कप्तान पुजा र रिया शर्माले समान २ तथा मनिशा उपाध्याय र कृष्मा गुरुङले समान १ विकेट लिए ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गर्यो ।

नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५, सोनी पाख्रिनले २५ बलमा १९ तथा सिमाना केसीले १९ बलमा नट आउट १९ रन जोडिन् । थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसँग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसँग हुनेछ ।

पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ ।

४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ ।  विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *