तिहार सकिएसँगै छठ पर्वको तयारी हुँदै, चन्द्रागिरिका यी स्थानमा मनाइँदै छठ

Thankot Times

थानकोट ।

मिथिलाञ्चलको प्रमुख पर्व छठको तयारी सुरु भएको छ । तिहार सकिए लगत्तै काठमाडाैं लगायत देशका विभिन्न नदी, तलाउ क्षेत्रमा छठ मनाउन तयारी सुरु गरिएको हो । 

चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित विष्णुदेवी क्षेत्रको नदी किनारमा छठका लागि घाट बनाउन थालिएको छ । 

विष्णुदेवी क्षेत्र संरक्षण समाज सुधार समितिको अग्रसरतामा सो क्षेत्रमा छठ पर्व मनाउन आवश्यक पूर्वाधार निर्माणको कार्य सुरु गरिएको चन्द्रागिरि छठ व्यवस्थापन समितिले जनाएको छ ।

छठ अन्तर्गत यही बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्ध्य दिइनेछ भने बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिई छठ समापन गरिनेछ । 

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ । 

भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ ।

चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा समेत छठका लागि तयारी तिव्र बनाइएको छ ।

चन्द्रागिरि नगरले छठ मनाउन वार्षिक बजेट विनियोजन गरेको जनाएको छ । 

चन्द्रागिरि नगर क्षेत्रमा मधेशी समुदायका नागरिकहरूको बसोबासमा बढोत्तरी भएसँगै यस क्षेत्रका नदी तथा तलाउ किनारमा छठ मान्नेको संख्या वर्षेनी बढिरहेको छ ।

अपुष्ठ तथ्याकंअनुसार चन्द्रागिरि नगरमा करिब ३ हजार जना मधेशी समुदायका मानिसहरू बसोबास गर्ने बताइन्छ ।

विगतका वर्ष चन्द्रागिरिका बलम्बु, मातातीर्थ, विष्णुदेवी लगायतका क्षेत्रमा छठ मनाइने गरिएकोमा गत वर्षबाट मातातीर्थ र विष्णुदेवी क्षेत्रमा मात्रै छठका लागि तयारी भएको बताइएको छ ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *