नेपाल संवत् ११४५ प्रारम्भ, चन्द्रागिरिमा शुभकामना र्याली आयोजना हुँदै

Thankot Times

थानकोट । 

नेपाल संवत् को नयाँ वर्ष ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

यस संवत् लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए।

पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।

“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने।

वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत् लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो। नेपाल संवत् लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ।

नयाँ वर्षका अवसरमा चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँबाट आज भिन्तुना र्याली निस्कँदै छ । सो र्यालीले चन्द्रागिरि नगरका सबै वडा परिक्रमा गर्नेछ । 

यसैगरी चन्द्रागिरि नगरपालिका-४ थानकोट सिलाफलमा रहेको राष्ट्रिय विभूति शंखध्वर शाख्वाको शालिकमा बिहान माल्यार्पण गरिँदै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *