आईएसएफ जिम्नासाइड समर गेम्सः ३ स्वर्णसहित ७ पदक जितेर स्वदेश फर्कियो नेपाली टोली
थानकोट ।
बहराइनमा सम्पन्न आईएसएफ जिम्नासाइड समर गेम्समा नेपालले तीन स्वर्ण, एक रजत र तीन कांस्यसहित सात पदक जितेको छ ।
बुधबार सम्पन्न आईएसएफ जिम्नासाइडमा नेपालले पाँच खेलमा सहभागिता जनाउँदा बक्सिङ र तेक्वान्दोमा पदक हात पारेको हो ।
टेबुलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाई थ्री बास्केटबलमा नेपालले कुनै पदक हात पार्न सकेन् ।
नेपालले बक्सिङमा दुई स्वर्ण र दुई कास्य पदक जित्दा तेक्वान्दोमा समान एक स्वर्ण, रजत र कास्य जित्यो ।
बक्सिङको पुरुष ८० केजीमुनिको ताैल समुहमा नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले स्वर्ण जिते । दुवै खेलाडीका यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो।
बक्सिङकै पुरुष ४६ केजीमुनि रोहित जनाला र ८० केजीमुनि सूर्यान वैद्यले कास्य पदक हात पारे ।
बहराइनको मानामामा भएको प्रतिस्पर्धामा तेक्वान्दोमा उज्ज्वल वाग्लेले दोहोरो पदक जित्न सफल भए ।
नैकापस्थित ब्राइट फ्युचर माविमा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमुनि स्वर्ण र पुरुष एकल पुम्सेमा रजत जितेका हुन् । तेक्वान्दोकी निविता केसीले महिला एकल पुम्सेमा कास्य जितिन् ।
प्रत्येक दुई वर्षको अन्तरमा हुने यू–१८ उमेर समूहको आईएसएफ जिम्नासाइडको २०औँ संस्करणमा नेपालबाट पाँच खेलमा ३२ खेलाडी सहभागी थिए ।
नैकापस्थित ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्कीको नेतृत्वमा बहराइन गएको सो टोली शुक्रबार स्वदेश फर्किएको छ ।