कार्तिक १७ गते बोसिगाउँ क्षेत्रको सडक व्यस्त रहने भएकोले विकल्प रोज्न अनुरोध
थानकोट ।
कार्तिक १७ गते शनिबार बोसिगाउँ क्षेत्रको सडक व्यस्त रहने भएकोले सो सडकको विकल्प रोज्न चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गलले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
नेपाल सम्वत् ११४५ (न्हूदँ) का अवसरमा शुभकामना र्याली निकाल्न यसपटक बोसिगाउँको पालो परेपछि वडा कार्यालयले सो क्षेत्रको सडक दिनभर व्यस्त रहने जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै वडा कार्यालयले खुसीखुसी चोकदेखि बोसिगाउँ हुँदै बल्खुपुल निस्कने सडक व्यस्त हुने भएकोले सो सडकको विकल्प रोज्न सवारी चालकहरूमा अनुरोध गरेको हो ।
नेपाल भाषा, कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिको अगुवाइमा यसवर्ष न्हूदँको कार्यक्रम बोसिगाउँमा सञ्चालन हुन लागेको हो ।
चन्द्रागिरि नगरपालिका क्षेत्रका ११ नेवाः वस्तीले नेपाल संवत् का अवसरमा हरेक वर्ष आलोपालो रुपमा न्हूदँ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । गतवर्ष चन्द्रागिरि नगरपालिका-०६ बाट न्हूदँ भिंतुना र्याली निस्किएको थियो ।
यसवर्ष कार्तिक १७ गतेबाट नेपाल संवत् ११४५ सुरु हुँदैछ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा बोसिगाउँ दबलीबाट न्हूदँ भिंतुना सांस्कृतिक कार्यक्रम साथै साइकल तथा मोटरसाइकल र्याली निस्कने चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवकुमार महर्जनले जानकारी दिए ।
बिहान १० बजे निस्कने साइकल तथा मोटरसाइकल र्याली ल्होंखा (लंकोट)-सतुंगल-किसिपिडी-बालागाउँ-नगांचा(महादेवस्थान)-थानकोट-टोटीटोल-बलम्बु-पुरानो नैकाप-बन्थोक-तीनथाना-टाैखेल-मच्छेगाउँ हुँदै पुनः बोसिगाउँ पुगेर सकिनेछ ।
यसपटक विगतका न्हूदँको अनुभवसमेतलाई ध्यानमा राख्दै मोडिफाइ गरिएका (स्वरुप परिवर्तन गरिएका) तथा ठूलो आवाज निकाल्ने मोटरसाइकललाई र्यालीमा निषेध गरिने नेपाल भाषा, कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धर्मराज राजवाहकले जानकारी दिए ।