१५ वर्षपछि यसपटक बोसिगाउँबाट न्हूदँका अवसरमा अवसरमा भिंतुना र्याली निस्कने
थानकोट ।
नेपाल संवत् ११४५ का अवसरमा चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँमा न्हूदँ कार्यक्रम आयोजना हुने भएको छ ।
नेपाल भाषा, कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिको अगुवाइमा यसवर्ष न्हूदँको कार्यक्रम बोसिगाउँमा सञ्चालन हुन लागेको हो ।
बोसिगाउँमा १५ वर्षअघि न्हूदँ कार्यक्रम गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चन्द्रागिरि नगरपालिका क्षेत्रका ११ नेवाः वस्तीले नेपाल संवत् का अवसरमा हरेक वर्ष आलोपालो रुपमा न्हूदँ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । गतवर्ष चन्द्रागिरि नगरपालिका-०६ बाट न्हूदँ भिंतुना र्याली निस्किएको थियो ।
यसवर्ष कार्तिक १७ गतेबाट नेपाल संवत् ११४५ सुरु हुँदैछ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा बोसिगाउँ दबलीबाट न्हूदँ भिंतुना सांस्कृतिक कार्यक्रम साथै साइकल तथा मोटरसाइकल र्याली निस्कने चन्द्रागिरि नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवकुमार महर्जनले जानकारी दिए ।
कार्तिक १७ गते बिहान १० बजे निस्कने साइकल तथा मोटरसाइकल र्याली ल्होंखा (लंकोट)-सतुंगल-किसिपिडी-बालागाउँ-नगांचा(महादेवस्थान)-थानकोट-टोटीटोल-बलम्बु-पुरानो नैकाप-बन्थोक-तीनथाना-टाैखेल-मच्छेगाउँ हुँदै पुनः बोसिगाउँ पुगेर सकिनेछ ।
यसपटक विगतका न्हूदँको अनुभवसमेतलाई ध्यानमा राख्दै मोडिफाइ गरिएका (स्वरुप परिवर्तन गरिएका) तथा ठूलो आवाज निकाल्ने मोटरसाइकललाई र्यालीमा निषेध गरिने नेपाल भाषा, कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष धर्मराज राजवाहकले जानकारी दिए ।
साथै, यस वर्ष न्हूदँ कार्यक्रमको आम्दानी तथा खर्च सार्वजनिक गरिने राजवाहकको भनाइ छ । कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि स्वंयमसेवी, प्रहरी, टाफ्रिक प्रहरी, नगरप्रहरी तथा स्थानीयबासीले सहयोग गर्ने बताइएको छ ।