चन्द्रागिरिका मेयर, उपमेयरसहितको टोली मध्यपुर अस्पतालमा
थानकोट ।
चन्द्रागिरि नगरपालिका प्रमुख तथा उपप्रमुखसम्मिलित जनप्रनिधिहरूको टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालको अवलोकन गरेको छ ।
मंगलबार मेयर, उपमेयर तथा कार्यपालिका सदस्यहरूसहितको टोली भक्तपुरको थिमीमा रहेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अवलोकन गरेको हो ।
सो क्रममा अस्पतालबाट प्रदान गरिएको सेवा सुविधा, अस्पताल सञ्चालन कार्यविधि लगायतका बारेमा मध्यपुर थिमी नगरपालिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ लगायतले प्रकाश पारेको चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए ।
मध्यपुर थिमीको नगरअस्पताल कोरिया सरकारको सहयोगमा सञ्चालन भइरहेको छ ।
यता जर्मन सरकारको सहयोगमा चन्द्रागिरि नगरमा परोपकार स्त्री तथा प्रसुति अस्पताल निर्माणको चरणमा छ। वैदेशिक सहायतमा सञ्चालित अस्पताल व्यवस्थापनका विविध आयामहरूको अध्ययनका लागि चन्द्रागिरि नगरका जनप्रतिनिधिहरू भक्तपुर पुगेको प्रवक्ता खड्गीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
तस्बिरः पर्शुराम श्रेष्ठ