सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले अन्तिम खेलअघि नै जित्यो टी-२० आई सिरिज

Thankot Times

थानकोट ।

नेपालले अमेरिका विरूद्धको तीन खेलको टी-२० सिरिज अन्तिम खेलअघि नै जितेको छ।

आइतबार विहान दोस्रो खेलमा अमेरिकालाई सुपर ‌ओभरमा पराजित गर्दै नेपालले सिरिज जितेको हो।

यसअघि नेपालले पहिलो टी-२० खेल १७ रनले जितेको थियो।  अन्तिम टी-२० भोलि बिहान हुनेछ।

सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गरेको थियो।

अमेरिकाका शायन जाहान्गिर र आन्द्रेस गस ब्याटिङमा थिए। बलिङमा  नेपालका सोमपाल कामीले पहिलो दुई बलमा दुई रन मात्र दिँदा त्यसपछिका दुई बलमा शायन र आरोन जोन्सलाई आउट गरे। सुपर ओभरमा दुई विकेट गएपछि लक्ष्य पाउने नियमअनुसार नेपालले केवल ३ रनको लक्ष्य पाएको थियो।

जसमा नेपालका कुशल भुर्तेल र कप्तान रोहित पौडेल ब्याटिङ हुँदा अमेरिकाका सौरभ नेत्रभाल्कर बलिङमा थिए। पहिलो बलमा रोहितले एक रन लिए। दोस्रो बलमा कुशलले एक रन नै लिए। तेस्रो बलमा रोहितले रन लिएनन्।

चौथो बलमा एक रन भए पछि नेपालले खेल जित्यो।

पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७० रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रननै जोड्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ