थाहा नगरमा चम्पाकेश्वर महादेव जात्राको राैनक (फोटो फिचर)

Thankot Times

थानकोट ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं १० विसिंखेलमा बिहीबार चम्पाकेश्वर महादेवको विशेष जात्रा सञ्चालन भइरहेको छ ।

चम्पाकेश्वर महादेव जात्राको किंवदन्ती यस्तो छः
धार्मिक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासँग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदिकालमै भएको दाबी छ।

गोपाली जातिको बहुल्यता रहेको यस क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको व्यवस्था गरिएको छ। यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने गरिन्छ।

यस मन्दिरमा पुर्ख्याैली घर पाटन रहेका राजोपाध्याय खलकका पुजारीले पूजा गर्ने प्रचलन छ। प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकैपटक कुटिएको चिउरा चढाइन्छ। जसलाई स्थानीय बासिन्दा ककः बजी भन्दछन्।

सोही दिन बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी र पगरीभरि फूल सिउरेर स्थानीय गोपालीहरूले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ। उक्त नाचलाई स्थानीय भाषामा ‘ट्वाक प्याखा’ भनिन्छ।

स्थानीय गोपालवंशी ग्वालाहरूको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठियारहरूले चार घेम्पो जाँड ल्याउने प्रचलन छ। किरा परिसकेको उक्त जााड र ‘ककः बजी’ प्रसादको रूपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास छ।

किम्बदन्तीअनुसार हालको थानकोटलाई प्राचीनकालमा शोणितपुर भनिन्थ्यो। त्यहाँ राजा बाणासुरले राज्य गर्दथे। एक दिन सिकार खेल्न राजपरिवार र सेनाहरू चन्द्रागिरि जंगल हुँदै बिसिङ्खेलको वनमा आइपुगे। उक्त वनको एउटा रुखमा फुलिरहेको चापको फूल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फूल टिपेर ल्याउन अनुरोध गरिएको कथा छ।

कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्रै रिस उठेछ। त्यसपछि कलाँटु गाउँकाँ काठका काम गर्ने व्यक्तिहरूलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन्। रुख काट्दा रगत आएको र एउटा ज्योतिर्लिँग पैदा भएपछि कलाँटुका गमालहरूले उक्त लिंग आफ्नो गाउँमा लगेर राखेछन्।

तर, त्यो रात गाउँमा कुखुराको भाले नबासेपछि केही अनिष्ट भयो भन्ठानेर गाउँलेमा चिन्ता बढेछ। क्षमापूजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाति गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझै पनि जात्राको दिन टौखेलबाट शिवलिंग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको छ। अहिले पनि चाँपको रुखको ठुटो मन्दिर परिसर मै छ।

तस्बिरः प्रकाश गोपाली


Leave a Reply

Your email address will not be published. Required fields are marked *