साल्ट ट्रेडिङका सतुङ्गल लगायतका बिक्री केन्द्रमा सुपथ मूल्य पसल पुनः सञ्चालन

Thankot Times

थानकोट ।

सरकारले चाडपर्वलाई लक्ष्य गरी सञ्चालन गरेका सहुुलियत मूल्य पसल मङ्गलबारबाट पुुनः सञ्चालनमा ल्याइएको छ ।

सो पसल दसैँ बिदामा पाँच दिन बन्द गरिएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि., साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थान (डिडिसी) ले दसैँतिहार र छठ पर्वका अवसरमा दैनिक उपभोग्य वस्तुको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका थिए ।

खाद्य कम्पनीले उपत्यकाका छ स्थानसहित देशका ४२ जिल्लाका ६५ स्थानमा सहुुलियत मूल्यमा चामल, दाल, गेडागुुडी, कर्णालीका रैथाने बाली (चिनो कागुुनो, मार्सी चामल, कर्णालीको सिमी) बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकाका छ स्थान (थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली र चाँगुुनारायणसहित ४२ जिल्लाका ६५ स्थानमा कम्पनीको बिक्रीकेन्द्र राखिएका छन् । यसका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले उपत्यकाका तीन मोबाइल भ्यानसहित गरी १४ स्थान र उपत्यकाबाहिर २३ जिल्लाका विभिन्न स्थानमा गरी ३८ स्थानमा सहुुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । पसल आगामी कात्तिक २३ सम्म सञ्चालन हुने छ ।

चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलमा रहेको साल्ट ट्रेडिङको बिक्री केन्द्रमा समेत सुपथ मूल्य पसल सञ्चालन भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *