उद्धारमा हेलिकोप्टर उडाउन क्यान नै ‘असहयोगी’, थानकोट जान भिजिविलिटी पुग्दैन भनियो !

Thankot Times

थानकोट ।

अविरल वर्षाले विपत्ति निम्त्याउँदा उद्धारमा सरकारी तथा निजी हेलिकोप्टरले उडान अनुमति नै नपाएको खुलेको छ। सरकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भिजिबिलिटी कम देखाएर नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर उडानका लागि अनुमति नदिएको खुलेको हो।

‘शनिबार दिउँसो राज्यलाई परेको विपद् मा सरकारी र निजी हेलिकोप्टरहरू परिचालन हुन सकेनन्,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने। ती अधिकारीका अनुसार बिहान ११ बजेसम्म गृहमन्त्री रमेश लेखकले ‘अब त भिजिबिलिटी हुन्छ होला, रेकी गरिदिनू’ भनेर सेनालाई आग्रह गरेका थिए। तर क्यानले रोकेपछि सेना र निजी क्षेत्रबाट सञ्चालित हेलिकोप्टर उद्धारका लागि परिचालित हुन नसकेका हुन्।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानैदेखि हेलिकोप्टर परिचालन गर्न खोजेको थियो। तर क्यानले उडान अनुमति दिएको थिएन। गृह सचिव गोकर्णमणि दवाडीले सेनाको हेलिकोप्टर परिचालन हुन ढिलाइ भएको भन्दै बिहानै निजी क्षेत्रका हेलिकोप्टर उडाउन सञ्चालकहरूलाई आग्रह गरेका थिए। तर निजी हेलिकोप्टरहरूले पनि उडान भर्न सकेनन्। ‘क्यानले उडाउन अनुमति दिएन, राज्यलाई असहयोग भयो,’ निजी हेलिकोप्टर सञ्चालक एक सदस्यले भने, ‘थानकोट, नक्खु जान भिजिबिलिटी पुग्दैन भन्नु कमजोरी देखियो। यो विषयमा छानबिन हुनुपर्छ।’ माओवादी द्वन्द्वको बेला राति उड्ने हेलिकोप्टरलाई बिहान भिजिबिलिटी कम छ भन्ने एउटा बहाना मात्रै भएको पनि ती सञ्चालकले दाबी गरेको नागरिक न्यूजमा खबर छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ