चन्दन भराटेश्वर प्राङ्गणमा सञ्चालित श्रीमद् भागवत सप्ताह महायज्ञमा ६७ लाख रूपैयाँ आम्दानी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-६ स्थित चन्दन भराटेश्वर मन्दिर प्राङ्गणमा गत महिना सञ्चालित श्रीमद् भागवत सप्ताह महायज्ञ एवं श्री चन्द्रागिरि ज्येष्ठ नागरिक समाज धार्मिक महोत्सवमा भएको आय व्ययको विवरण सार्वजनिक गरिएको छ।
महोत्सव मूल आयोजक समितिले हिजो (मंगलबार) सो विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको आय व्यय विवरणअनुसार कुल ६७ लाख ७० हजार २ सय ६८ रूपैयाँ आम्दानी हुँदा २३ लाख २ हजार १ सय तीन रूपैयाँ खर्च भएको कार्यक्रम मूल आयोजक समिति अध्यक्ष विवेक ढकालले जानकारी दिनुभयो ।
दान सहयोगबापत सबैभन्दा धेरै ६ लाख १९ हजार १ सय ६१ आम्दानी भएको बताइएको छ ।
यस्तै, तुलादानबाट १ लाख ४० हजार ६ सय १६ रूपैयाँ आम्दानी भएको छ।
खर्चतर्फ सबैभन्दा धेरै दक्षिणामा खर्च भएको छ ।
महायज्ञमा ८ लाख १८ हजार १ सय ७४ रूपैयाँ दक्षिणा बापत खर्च भएको हो ।
यस्तै विभिन्न संस्था तथा व्यक्तिबाट कबोल भएको ३ लाख ६३ हजार ४ सय ५१ रूपैयाँ प्राप्त हुन बाँकी रहेको समेत मंगलबार आयोजित खर्च तथा आम्दानी सार्वजनिकीकरणमा जानकारी दिइयो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा जग्गा खरिद गरि ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणको उद्देश्यले आयोजित सो सप्ताहव्यापी धार्मिक अनुष्ठानमा कुल ४४ लाख ६८ हजार १ सय ६५रूपैयाँ बचत भएको छ ।