नेपाल आयल निगमको थानकोट डिपोमा पेट्रोल, डिजेलको माैज्दात कति छ ?

Thankot Times

थानकोट ।

काठमाडाैं भित्रने मुख्य राजमार्गहरूमा बाढी, पहिरो र डुबानका कारण बन्द भइरहँदा सवारीसाधन सञ्चालनमा अवरोध भइरहेको छ।

बाढीका कारण उपत्यकाको जिल्ला जोड्ने सडकहरु अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजिवन अस्तव्यस्त बन्न पुगेको हो । सडक अवरोधका कारण उपत्यकामा अतिआवश्यक दैनिक उपभोग्य वस्तु आपूर्ति हुन नसक्दा चरम रुपमा महँगी बढ्नुका साथै त्यस्ता वस्तुको अभावसमेत सिर्जना भएको छ ।

बाटो अवरोधको मार पेट्रोलियम पदार्थको आपूर्तिमा पनि परेको छ ।

शुक्रबार मागको तुलनामा निक्कै कम आपूर्ति भएको पेट्रोलियम पदार्थ शनिबार र आइतबार राजधानीमा भित्रिन सकेन् ।

बाहिरी जिल्लासँग काठमाडौं जोड्ने पृथ्वी राजमार्ग, विपी राजमार्ग, अरनिको राजमार्ग, हेडौंडा बल्खु मार्ग, कान्ति राजपथ, काभ्रे काठमाडौं मार्गमा बाढीले विभिन्न सडक खण्डमा क्षति पुर्‍याएपछि अतिआवश्यक दैनिक उपभोग्य वस्तुको आपूर्तिमा अवरोध सिर्जना भएको छ ।

नेपाल आयल निगम थानकोट डिपोका प्रमुख अशोक साहका अनुसार सोमबार भने पेट्रोल ५ सय किलोलिटर र डिजेल ४ सय किलो लिटर आपूर्ति भएको थियो । यस्तै हवाई इन्धन ६० ट्याँकर आपूर्ति भएको थियो ।

उनका अनुसार थानकोट डिपोमा अहिले उपत्यकाको ५ दिनको माग धान्ने गरी इन्धन भण्डारण गरिएको छ ।

थानकोट डिपोमा पेट्रोलको ६ हजार १ सय किलोलिटर, डिजेल ८ हजार ४ सय किलोलिटर र मट्टितेलको ७ सय ६० किलोलिटर क्षमता भएको भण्डारण गृह छ ।

सडक अवरुद्ध हुँदा इन्धन लोड भएको १ सय ६५ वटा ट्याँकर चितवनमा आइतबार रातिसम्म अलपत्र परेको थियो ।

सोमबारदेखि पृथ्वी राजमार्ग सफा गरी एकतर्फी सुचारु भएपनि केहि ट्याँकर राजधानी भित्रिएको छ ।

पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री वितरण गर्न थानकोट डिपो २०५८ सालमा स्थापना गरिएको थियो। निगमले यहाँबाट काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका १० जिल्लाका एक सय ८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन बिक्री, वितरण गर्दै आएको छ। चन्द्रागिरि नगरपालिका-०३ मा यो डिपो एक सय रोपनी क्षेत्रफलमा फैलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *