बागमती प्रदेश सभामा सांसद् पोखरेलले राखे चन्द्रागिरि हाइटेन्सन लाइन पिडितको समस्या

Thankot Times

थानकोट ।

बागमती प्रदेशसभाको आइतबार बसेको बैठकमा तीनवटा विधेयकको प्रतिवेदन पेश भएका छन्।

बैठकमा प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले तयार गरेको प्रतिवेदन पेश भएका हुन्।

उक्त प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले सभामुख भुवनकुमार पाठकको अनुमतिमा पेश गरेका हुन् ।

यसैगरी उक्त बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका छन्।

सोही बैठकमा सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको हेरफेरको क्रममा सांसद किरण थापा मगरको स्थानमा सांसद एकालाल श्रेष्ठलाई हेरफेर गरिएको जानकारी गराए।

यसैगरी उक्त बैठकमा मुख्यमन्त्री बहादुरसिं लामाले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ प्रस्तुत गरेका थिए।

सत्तापक्षका प्रदेशसभाका सदस्य केशवप्रसाद पोखरेलले राखेका ध्यानाकर्षणको प्रस्तावप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको सभामुख पाठकले बताए।

उक्त प्रस्तावमा काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिका तथा नागार्जुन नगरपालिकाका विभिन्न क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइन बनाइँदा ती जग्गामा सर्वसाधारणले आफ्नो कारोबार गर्ने अवसरबाट वञ्चित भएकाले प्रदेश सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणले पीडितलाई क्षतिपूर्ति दिन माग गरे।

सभामुख पाठकका अनुसार प्रदेशसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा आइतबार पेश गरिएका तीनवटा विधेयकमाथि छलफल हुने सभामुख पाठकले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *