इन्द्रदह स्नान मेलामा श्रद्धालुहरूको धुइराे

Thankot Times

थानकोट ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन भोलिपल्ट (आज) बिहानै इन्द्रदहमा स्नान गर्न व्यस्त छन् ।

चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्छ।

चन्द्रागिरि नगरपालिका १ इन्द्रस्थानस्थित यस स्थलमा बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ।

सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको सुक्ति अहिलेपनि सुन्न पाइन्छ । समुद्री सतहबाट करीब २४ सय मिटरको उचाइमा अवस्थित उक्त डाँडालाई ‘स्वर्ग स्वपान’ अर्थात् स्वर्ग जाने भर्याङका रुपमा वर्णन गरिएको छ ।

साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बोकेको यस स्थान नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ ।

मंगलबार मध्यरातदेखी नै श्रद्धालुहरू इन्द्रदहमा पूजा अर्चनामा व्यस्त भइरहेको चन्द्रागिरि १ का वडाध्यक्ष हरिश्याम रानामगरले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

मेला व्यवस्थापनमा नगर प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसंस्थाका सदस्यहरु, जनप्रतिनिधिहरु तथा स्थानीयबासीहरु खटिएका छन् ।

तस्बिर: दिपक पनेरु


Leave a Reply

Your email address will not be published. Required fields are marked *