२०औं एसियाली सिनियर कराँते प्रतियोगिताः मच्छेगाउँमा स्वनिमसहित ८ खेलाडी चीन प्रस्थान

Thankot Times

थानकोट ।

एसियाली सिनियर कराँतेको २० औं संस्करणमा सहभागी हुने नेपाली टोली चीन प्रस्थान गरेको छ ।

हाङझावमा हुने प्रतियोगितामा सहभागी हुने टोलीलाई सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सोमबार बिदाइ गरेका थिए ।

सो अवसरमा सहभागी टोलीलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले प्रायोजन गरेको ट्रयाक सुट तथा केल्मीले प्रायोजन गरेको टिसर्ट र टोपी हस्तान्तरण गरिएको थियो।

प्रतियोगिता सेप्टेम्बर २० देखि २२ तारिखसम्म हुँदैछ। यही प्रतियोगितामा ११ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलबार हाङझाव प्रस्थान गर्दै छ।

प्रतियोगिताअघि हाङझावमै सेप्टेम्बर १८ तारिखमा हुने एसियाली कराते महासंघको कोंग्रेसमा सहभागी हुन नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङ पनि टोलीसँगै जाने छन्। प्रतियोगितामा ३१ राष्ट्रका ३ सय ६७ खेलाडीको सहभागिता रहने छ। पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँका कराँते खेलाडी स्वनिम मानन्धरले समेत चुनाैती पेश गर्ने तालिका रहेको छ । उनले  पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।

मानन्धरलाई मंगलबार चन्द्रागिरि नगरपालिका वडा नं. ९ का वडाध्यक्ष अच्युत अधिकारी लगायत नरहरिपुर डोजाङका अधिकारीहरूले शुभकामनासहित बिदाइ गरेका छन् ।

पुरुष :
६० केजीमुनि: मिनबहादुर तामाङ
६७ केजीमुनि: सन्तोष श्रेष्ठ
८४ केजीमुनि: मोहम्मद शेखु आलम
८४ केजीमाथि: आशिष श्रेष्ठ
एकल काता: स्वनिम मानन्धर
महिला :
६८ केजीमाथि: एरिका गुरुङ
५५ केजीमुनि: जिया कार्की
६१ केजीमुनि: निरुपा दोङ तामाङ
टिम काता: एलिसा रास्कोटी मगर, मेघा लिम्बू, टप्पी थापा (एलिसा रास्कोटीले एकल कातामा पनि सहभागिता जनाउने)
प्रशिक्षकहरू :
मुख्य प्रशिक्षक: कुशल श्रेष्ठ
प्रशिक्षक: मन्डेकाजी श्रेष्ठ
टिम व्यवस्थापक :
नेपाल कराते महासंघका उपाध्यक्ष: मजेन्द्र सिंह
नेपाल कराते महासंघका सदस्य: रवि महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *