कीर्तिपुरमा वीरंगना कीर्तिलक्ष्मीको शालिक राख्न समिति गठन

Thankot Times

थानकोट ।

कीर्तिपुरको इतिहाससँग सम्बन्धित, कीर्तिपुरका पुर्खाहरुले बताएर पुस्तान्तरण हुँदै आइरहेको घटनासँग सम्बन्धित कीर्तिपुरका वीर योद्धा कीर्तिपुरका चेली कीर्तिलक्ष्मीको शालिक कीर्तिपुरमा राख्नको पहल सुरु भएको  ।

जसका लागि स्थानीयले निर्माण समिति गठन गरेका छन् । 

भाद्र २८ गते सो विषयमा चासो राख्नेहरु र सरोकारवालाहरुको भेलाले अग्रज पत्रकार नजरराम महर्जनको अध्यक्षतामा १९ सदस्यीय सालिक निर्माण समिति गठन गरिएको हो। 

बागमती प्रदेश सभा सदस्य पुकार महर्जन संरक्षक रहने गरी समिति गठन गरिएको हो ।

कीर्तिलक्ष्मीको शालिक राख्न यसअघि पटकपटक पहलकदमी भइरहेतापनि यसपटक भने निर्माण समिति नै गठन गरिएको हो । 

बागमती प्रदेश सरकारले कीर्तिपुरमा कीर्तिलक्ष्मीको शालिक राख्नको लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कीर्तिलक्ष्मी को थिइन् ? 

दुई पटक पराजय भोगेको गोरखाली सेना पूर्ण तयारीका साथ कीर्तिपुरसँगको तेस्रो युद्धमा थियो ।

गोरखाली सेनासँग एक महिला लडिरहेकी थिइन्, पुरुषको भेषमा । यो लडाइँमा कीर्तिपुर राज्यका ढोकाहरू फोरेर गोरखाली सेना कीर्तिपुर राज्यमा प्रवेश गर्न सफल भयो ।

उनीहरूले हारेका कीर्तिपुरे सेनालाई बन्दी बनाउन थाले । एक सेनाको हाउभाउ महिलाको जस्तो देखे गोरखाली सेनाले ।

अपमानपूर्वक उनीहरूले कीर्तिलक्ष्मीको पुरुष भेष उतार्न लगाए ।

एक महिला पुरुषको भेषमा खुँडा लिएर लडिरहेको रहस्य पत्ता लाग्यो । गोरखाली सेनाले बन्दी बनाइएकी कीर्तिलक्ष्मीको इज्जत हरण गरे । त्यो सहन नसकी बन्दी अवस्थामा आफैँले आफैँलाई खुँडा धसेर आत्महत्या गरिन्, परम्परागत सङ्कुचित समाजमा अदम्य साहससाथ लडेकी वीराङ्गनाको अवसान भयो ।

यो इतिहासको पानामा लिपिबद्ध गरिएको कुनै इतिहास हैन् । यो कीर्तिपुरका बासिन्दामा श्रुति परम्पराअन्तर्गत सुनाइने ऐतिहासिक घटनाको एउटा विवरण हो । यो कथा आज पनि कीर्तिपुरेबीच सुन्ने सुनाउने परम्परा रहेको पाइन्छ ।

प्रतिकात्मक स्केच


Leave a Reply

Your email address will not be published. Required fields are marked *