चन्द्रागिरि नगरका दुई विद्यालयमा फोहोर व्यवस्थापन सम्बन्धी चेतना कार्यक्रम सम्पन्न

Thankot Times

थानकोट ।

इन्जिनियरिङ ज्ञान नेपाल र एलसिके युनाइटेड स्टार्सको सहकार्यमा चन्द्रागिरिका दुई विद्यालयहरूमा फोहोर व्यवस्थापनसम्बन्धी चेतना कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमले विद्यार्थीहरूलाई सही तरिकाले फोहोर व्यवस्थापन गर्ने र यसको वातावरणमा पर्ने प्रभावका बारेमा जानकारी दिने उद्देश्य राखेको थियो।

मातातिर्थस्थित जनविकास माध्यमिक विद्यालयका ८० जना विद्यार्थी र १० जना शिक्षक तथा बोसिगाउँस्थित भैरवनाथ आधारभूत विद्यालयका ३० विद्यार्थी र ५ जना शिक्षकहरूले कार्यक्रममा सहभागीता जनाएको इन्जिनियरिङ ज्ञान नेपालका फोहोर व्यवस्थापन विभागका प्रमुख र फोहोर व्यवस्थापनमा विद्यावारिधी गरिरहेका अनिल कुमार बरालले जानकारी दिनुभयो ।

सो क्रममा सम्बन्धित वडाका जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । सो क्रममा उनीहरूले यस्ता कार्यक्रमहरूले स्थानीय फोहोर व्यवस्थापन समस्याहरू समाधान गर्न मद्दत पुर्‍याउने बताए र शिक्षा नै सही फोहोर व्यवस्थापनको मुख्य साधन रहेकोमा जोड दिएका थिए ।

सोमबार आयोजित कार्यक्रममा पर्यावरणविद् डा. बिदुर ढुंगेलले जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिको बारेमा जानकारी गराउनुभएको थियो भने इन्जिनियर भीमबहादुर बम्जनले घरमा कम्पोस्ट बनाउने तरिकाको व्यावहारिक जानकारी दिनुभएको थियो ।

लायन्स क्लब अफ काठमाडौँ युनाइटेड स्टार्सका तर्फबाट दुवै विद्यालयलाई शान्ति पोस्टर प्रतियोगितामा सहभागी गराइएको र उत्कृष्ट पोस्टरलाई पुरस्कार दिइने घोषणा गरिएको थियो।

विद्यार्थीहरूले फोहोर व्यवस्थापन व्यावहारिक रूपमा अभ्यास गर्नका लागि लायन्स क्लबका सदस्यहरू अश्विन श्रेष्ठ, सृजना बराल, र सोनिका अर्यालले ती विद्यालयलाई चार वटा डस्टबिन र चार वटा बाल्टिन हस्तान्तरण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *