लामाचौर आमन्त्रित महिला भलिबलको उपाधी एपीएफलाई, फाइनलमा न्यु डायमण्ड स्तब्ध
थानकोट ।
लामाचौर भलिबल कपको महिलातर्फको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ।
शुक्रबार भएको फाइनल खेलमा चन्द्रागिरिको टिपटप न्यु डायमण्ड युथ क्बलाई ३–१ को सेटमा पाखा लगाउँदै एपीएफ च्याम्पियन बनेको हो।
पहिलो सेटमा एपीएफले २५–२३ को जित निकाल्यो। सुरुवाती अग्रता लिएको न्यु डायमण्डले अन्तिमसम्म जोगाउन सकेन। दोस्रो सेट पनि न्यु डायमण्डले २५–२३ अंकमै गुमायो। तेस्रो सेट २५–१३ को जित निकाल्दै न्यु डायमण्डले पुनरागमन ग¥यो। चौंथो सेटमा २५–१० को जित निकाल्दै एपीएफले उपाधि रक्षा गरेको हो।
उपाधिसँगै एपीएफले एक लाख ५० हजार १११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। न्यु डायमण्डले एक लाख १११ रुपैयाँमा चित्त बुझायो।
न्यु डायमण्ड उपविजेतामा सीमित बनेको यो लगातार तेस्रो वर्ष हो। यसअघिका दुई संस्करणमा अर्को विभागीय डर्बी नेपाल पुलिस क्बलसँग पराजित हुँदै उपाधि नजिक पुगेर घर फर्किनुपरेको थियो।
४ टोली सहभागी प्रतियोगितामा एभरेष्ट भलिबल क्लब बुटवलले तेस्रो स्थान हासिल गरेको छ।
शुक्रबार भएको खेलमा गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले तेस्रो स्थान हासिल गरेको हो। तेस्रो बनेको एभरेष्टले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।