आयल निगमको थानकोट डिपो सार्न प्रधानमन्त्री ओलीको निर्देशन

Thankot Times

थानकोट ।

जोखिमयुक्त स्थानमा रहेका थानकोट डिपोसहित नेपाल आयल निगमका केही डिपो सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटस्थित बागमती प्रादेशिक कार्यालय हातामा रहेको इन्धन डिपोलाई बस्ती कम भएको स्थानमा स्थानन्तरण गर्न निर्देशन दिएका हुन् ।

बस्ती भएको स्थानमा जोखिम निम्त्याउने प्रज्वलनशील पदार्थहरुको भण्डारण गर्न उपयुक्त नहुने ओलीले बताए ।

पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री वितरण गर्न थानकोट डिपो २०५८ सालमा स्थापना गरिएको थियो। निगमले यहाँबाट काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका १० जिल्लाका एक सय ८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन बिक्री, वितरण गर्दै आएको छ। चन्द्रागिरि नगरपालिका-०३ मा यो डिपो एक सय रोपनी क्षेत्रफलमा फैलिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *