जसपा नेपालको सङ्गठन विस्तार अभियानः काठमाडाैं महानगर र चन्द्रागिरिको जिम्मा प्रधानलाई

Thankot Times

थानकोट ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय समिति बैठकले सङ्गठन विस्तारका लागि चार महिने जनअभियानमा सञ्चालन गर्ने निर्णय गरेको छ। 

यसका लागि पार्टीले कार्यकारिणी सदस्यबाहेक सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिएको छ । 

अभियानबाट २०८४ सालसम्म पाँच लाख क्रियाशील सदस्य बनाउने लक्ष्य पार्टीले लिएको छ । अहिले जसपा नेपालका एक लाख ४५ हजार क्रियाशील सदस्य छन् । एक जना केन्द्रीय सदस्यलाई कम्तीमा एउटा र बढीमा तीन वटासम्म पालिकाको जिम्मेवारी दिइएको हो । जसअनुसार काठमाडाैं महानगर र चन्द्रागिरि नगरको जिम्मेवारी चन्द्रागिरिका रमेशचन्द्र प्रधानले पाएका छन् । उनी यसअघि सो पार्टीको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी थिए भने गत महिना सम्पन्न महाधिवेशनपछि जिम्मेवारी विभाजन नगरिएको बताइएको छ ।

हरेक केन्द्रीय सदस्य यो अभियानमा अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ ।

अभियानमा खटिएका प्रत्येक केन्द्रीय सदस्यलाई पार्टीले एउटा डायरी उपलब्ध गराउने छ जसमा उनीहरूले अभियानका क्रममा गरेको गतिविधि उल्लेख गर्नुपर्नेछ । अभियान सकिएपछि सो डायरी पार्टीलाई बुझाउनुपर्ने हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *