चन्द्रागिरिमा एक सय १७ रोपनी जग्गा एकीकरण गर्दै राष्ट्रिय आवास कम्पनी लिमिटेड
थानकोट ।
राष्ट्रिय आवास कम्पनी लिमिटेडले घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ।
यो कार्यक्रम तत्काल झापा र बर्दियामा सुरु गर्ने योजना कम्पनीको छ। त्यसपछि विस्तारै अन्य जिल्लामा पनि लागु हुने कम्पनीले जनाएको छ।
सरकारले आफैं घर बनाएर बिक्री गर्न लागेको सम्भवतः यो पहिलो पटक हो।
मुलुकमा योजनाबद्ध आवास तथा बस्ती विकास, जग्गा एकीकरण आयोजना सञ्चालन, शहरी क्षेत्रमा आवासीय योजना सञ्चालन गर्ने उद्देश्यसहित ६१ वर्षअघि गठन भएको राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा तीन हजार चार सय ९६ बिघा पाँच कट्ठा आठ धुर जग्गा छ।
उक्त जग्गा सदुपयोग गर्न चालु आर्थिक वर्षभित्र कम्पनीले विभिन्न कार्यक्रम अघि सारेको छ। चालु आर्थिक वर्षमै चन्द्रागिरि नगरपालिका-१२ बलम्बुमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) कार्यक्रम सुरु गर्ने भएको छ।
उक्त कार्यक्रमअन्तर्गत एक सय १७ रोपनी जग्गा एकीकृत गरी बस्ती बसाउन उपयुक्त बनाइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त जग्गा स्थानीयकै हुने छ र स्थानीयकै जग्गालाई एकीकृत गरी बस्ती बसाउन उपयुक्त बनाइनेछ।
‘यो पेप्सीकोला मनोहरा टाउन प्लानिङ जस्तै हुनेछ’, कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले भने ।
कम्पनीले जग्गा एकीकरण कार्यक्रमका लागि २५ करोड रूपैयाँ छुट्याएको छ।
कम्पनीका अनुसार उक्त कार्यक्रम नाफामूलक नभई सेवामूलक हुने छ नागरिक दैनिकमा खबर छ ।