नागढुङ्गामा सवारी चालकको लापसे जाँच, ६ जना चालक प्रहरी नियन्त्रणमा

Thankot Times

थानकोट ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट पक्राउ गरेको छ ।

बागमती प्रदेश ०६–००१ ज ०१७२ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका ८ का २५ वर्षीय अनिक चौधरी, प्रदेश २–०३ ००१ ख ४५६२ नम्बरका ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ का ३० वर्षीय प्रकाश तामाङ पक्राउ परेका हुन् ।

त्यस्तै, बा १३ च ४८५३ नम्बरका पिक अप चालक मकवानपुरको थाहा नगरपालिका ७ का २३ वर्षीय प्रकाश गोले, बा १७ च १७१४ नम्बरका भ्यान चालक बाँकेको कोहलपुर नगरपालिका २ का ४२ वर्षीय विनोद चौधरी, ग १ ख १५६७ नम्बरका भाडा बस चालक तनहुँको म्याग्दी गाउँपालिका १ का ३९ वर्षीय कर्ण बहादुर गुरङ र ना ७ ख ०५२७ नम्बरका भाडा ट्याङ्कर चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ६ का ४८ वर्षीय रविलाल मानन्धरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब किटमा राखेर जाँच गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे-नगरेको चेक गर्दै आएको छ ।
नागढुङ्गामा हिजो शुक्रबार २५ वटा सवारी साधनलाई चेक गर्दा ६ वटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको एसएसपी जीवन कुमार श्रेष्ठलेबताए ।
नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोटमा बुझाइएको छ ।
चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्का बताउँछन् ।

त्यस्तै, ललितपुरको इमाडोलमा शुक्रबार नै गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका सवारी साधन चलाउने ६१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

६७ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ६१ वटा सवारी साधन फेला परेपछी चालकलाई कारवाही गरिएको हो ।

सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नका लागि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्काले बताउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *