पेरिस ओलम्पिकको भव्य उद्घाटन, १५औं पटक ओलम्पिक कुम्भमा नेपाल

Thankot Times

थानकोट ।

३३औं ग्रीष्मकालीन ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन भएको छ ।

पहिलोपटक रंगशाला बाहिर उद्घाटन समारोह आयोजना गर्दै पेरिस ओलम्पिक शुक्रबार राति सुरु भएको हो । 

एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यसपटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन भयो ।

उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको थियो । जहाँ विश्वका २०६ राष्ट्रका खेलाडीहरु विभिन्न शैलीका डुङ्गाहरु चढेर मार्सपासमा सहभागि भएका थिए । उनी ८५ वटा बोटमा चढेर करिब ६ किलोमिटर लामो परेडमा सहभागि भएका थिए ।

 फ्रान्सेली राष्ट्रपति माक्रोनले ३३औं समर ओलम्पिकको उद्घाटन भएको घोषणा गरेका थिए ।

फ्रान्सेली जुडो खेलाडी टेड्डी रिनर र स्प्रिन्टर मारिए जोस पेरेकले ओलम्पिक फ्लेम बालेका थिए ।

पेरिस ओलम्पिकमा विश्वका १० हजार ७१४ खेलाडीले ३२ खेलको ३२९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

पेरिस ओलम्पिकको उद्घाटन समारोहअघि नै फुटबल, रग्बी सेभेन्ज, आर्चरी र ह्यान्डबलका प्रतिस्पर्धाहरु सुरु भइसकेका छन् ।

यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन्। टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन्। अन्य खेलाडीहरुलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो। नेपालले ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ। नेपालका अन्य खेलाडीहरुमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङ मा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन्। नेपालले पहिलोपटक ओलम्पिकमा ब्याडमिण्टनमा भाग लिन लागेको हो।

नेपालले ओलम्पिकमा भाग लिएको यो १५ औं पटक  हो।

ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ। नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो। पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *