नगरप्रमुखको निधनमा कीर्तिपुरमा आज शोक बिदा, अन्तिम श्रद्धाञ्जली दिन शुभेच्छुकहरूको भीड

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको ५९ वर्षको उमेरमा निधन भएको छ ।

उपचारका क्रममा बिहीबार राति मेयर नकर्मीको वीर अस्पतालमा निधन भएको हो ।

उनी मृगाैलासम्बन्धी रोगबाट पिडित थिए ।

मेयर नकर्मीको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कीर्तिपुर नगरपालिकाको प्राङ्गणमा राखिएको छ । जहाँ हजाराैं शुभेच्छुकहरूले श्रद्धाञ्जली दिइरहेका छन् । उनको आजनै अन्तिम संस्कार गर्ने तयारी भइरहेको बताइएको छ ।

नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन्।

संघीय सांसद् राजेन्द्रकुमार केसी, प्रदेश सभा सदस्य पुकार महर्जन, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति धर्मनन्द श्रेष्ठ लगायत नेपाली काँग्रेसका सैयाैं नेता तथा कार्यकर्ताहरूले कीर्तिपुरका मेयर राजकुमार नकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस काठमाडाैं जिल्ला उपसभापति समेत रहेका नकर्मीको पार्थिव शरिरमा सांसद् केसीले नेपाली काँग्रेसको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

यसैबीच नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको शोकमा कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिने निर्णय गरेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढुङ्गेलले नगरमा शोक बिदा दिने निर्णय भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *