नागढुङ्गा सुरुङमार्ग अवलोकन गर्न संघीय सांसद्हरूको टोली चन्द्रागिरिमा

Thankot Times

थानकोट ।

बिहीबार संघीय संसद् अन्तर्गतको पूर्वाधार विकास समितिले राष्ट्रिय गाैरवको आयोजना नागढुङ्गा सुरूङमार्ग आयोजनाको स्थलगत अवलोकन गरेको छ ।

समितिका सभापति सांसद दीपकबहादुर सिंहको नेतृत्वमा समितिका सदस्य सांसद, सचिवालयका उपसचिव सहितका कर्मचारी सम्मिलित अनुगमन टोलीले सुरूङ निर्माणको प्रगतिबारे आयोजना स्थलका इन्जिनियर तथा प्राविधिकहरूसँग विवरण लिएको हो ।

त्रिभुवन राजपथको सिस्नेखोला, धादिङ्गदेखि सुरू भई चन्द्रागिरि नगरपालिकास्थित टुट्टेपाखा नजिकैअन्त्य हुने सुरूङमार्ग कुल २.६८८ किमी लामो रहेको छ ।

आयोजनाको कुल लागत रू २२.८३ अर्बमध्ये दातृसंस्था जाइकाले रू. १७.१५ अर्ब ऋणमार्फत् उपलब्ध गराउने छ र बाँकी रू. ५ .६७ अर्ब नेपाल सरकारले व्यहोर्ने प्रावधान रहेको छ ।

आयोजना निर्माणका लागि जापानको हाजमा आन्दो कर्पोरेसनसँग सेप्टेम्बर २३, २०१९ मा ठेक्का सम्झौता भएको थियो । अप्रिल २६, २०२३ मा निर्माण सम्पन्न गर्नुपर्ने यो आयोजनाको विभिन्न कारणले ३ पटक म्याद थप भइसकेको छ ।

यस अनुसार अब निर्माण पक्षले यो आयोजना सन् २०२५ को अक्टोबरसम्म नेपाल सरकारलाई निर्माण सम्पन्न गरि बुझाइसक्नुपर्ने छ ।

नागढुङ्गा सुरूङ मार्गको निर्माण गर्नको निमित्त नेपाल सरकार र जापान सरकारको बीचमा डिसेम्बर २२, २०१६ मा ऋण सम्झौता भएको थियो ।

हाल सुरुङ मार्गको फिनिसिङको कार्य जारी छ भने पहुँच मार्गका लागि ओभर निर्माणको कार्य तिव्र गतिमा अघि बढिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *