आजबाट चन्द्रागिरि नगरमा विशेष पोलियो खोप अभियान सुरु

Thankot Times

काठमाडाैं ।

आजदेखि चन्द्रागिरि नगरमा विशेष पोलियो खोप अभियान सञ्चालन भएको छ ।

यो अभियान काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि सञ्चालन गरिएको हो ।

चन्द्रागिरि नगरपालिका क्षेत्रका १५ वटै वडाहरूमा यस अभियानका लागि करिब १ सय ४९ जना महिला स्वास्थ्य स्वयंसेवकहरु परिचालन गरिएको चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वंसेवकहरुले नगरबासीहरूको घरघरमा पुगी ५ वर्ष मुनिका बालबालिकालाइ खोप दिनेछन् साथै बालबालिकाको संख्या धेरै भएका विद्यालय, शिशु स्याहार केन्द्र लगायतमा पनि स्वयंसेवकको टोलीले खोप अभियान जारी राख्ने नगरका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोले जाकारी दिए ।

४० वर्ष देखि संचालनमा रहेको पोलियो खोप पूर्ण सुरक्षित रहेको र खोप लगाएका बालबालिकाहरूलाई पोलियो हुने सम्भावना कम रहने महतोको भनाइ छ ।

चन्द्रागिरि नगरपालिकामा ५ वर्ष उमेर समुहका करिब १४ हजार बालबालिकाहरू रहेको अनुमान छ ।

बुधबारबाट सुरु भएको विशेष पोलियो खोप अभियान श्रावण १२ गतेसम्म जारी रहने बताइएको छ ।

काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सुरु गर्न लागेको हो ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई १० वर्षअघि नै पोलियोमुक्त घोषणा गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *