ज्यालादारीमा नियुक्त कर्मचारीलाई करारमा राख्दै त्रिवि
थानकोट ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले २० पुस २०७३ अघि त्रिभुवन विश्वविद्यालयमा दैनिक तथा मासिक ज्यालादारीमा नियुक्त भई कार्यरत रहेका सहायकस्तरका कर्मचारीलाई आन्तरिक स्रोतमा करार गर्ने निर्णय गरेको छ ।
सोमबार कार्यकारी परिषद्ले विभिन्न निकाय तथा क्याम्पस/कार्यालयमा दैनिक तथा मासिक ज्यालादारीमा नियुक्ति लिई कार्यरत रहेका सहायकस्तरका सम्पूर्ण कर्मचारीलाई सम्बन्धित क्याम्पस तथा कार्यालयको आन्तरिक स्रोतमा करार गर्ने निर्णय गरेको हो ।
त्रिवि रेक्टर प्रा.डा. खड्ग केसीले सम्बन्धित निकायले आन्तरिक स्रोतमा राख्न सक्ने भएपछि निर्णय गरिएको बताए ।
त्रिविमा २० पुस २०७३ अघि दैनिक तथा मासिक ज्यालादारीमा नियुक्त भई कार्यरत कर्मचारी थोरै संख्यामा रहेको उनले बताए ।