सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूका लागि चन्द्रागिरिमा राष्ट्रिय परिचय पत्र दर्ताको कार्य सुरु हुँदै

Thankot Times

थानकोट । 

सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका तरा राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन छुट भएका नगरबासीहरूका लागि लक्षित गरि चन्द्रागिरि नगरपालिकाले दर्ता प्रकृया सुरु गर्ने भएको छ । 

बिहीबार एक सूचना जारी गर्दै नगरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिहरेका लाभग्राहीका लागि मात्र राष्ट्रिय परिचय पत्रको विवरण दर्ता हुन लागेको जनाएको हो ।

चन्द्रागिरि नगरपालिकाको कार्यालय बलम्बुस्थित दर्ता स्टेशनबाट यहि असार २३ गतेबाट वडागत रूपमा राष्ट्रिय परिचय पत्र दर्ताको कार्य सुरु हुने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउनु पूर्व सम्बन्धित व्यक्तिले आफु बस्ने वडाको पालो अनुसार वैयक्तिक तथा जैविक विवरण दर्ता गराउन सक्ने बताइएको छ ।

जसका लागि सामाजिक सुरक्षा भत्ताको परिचय पत्रको सक्कल, नेपाली नागरिकता प्रमाणपत्रको सक्कल लगायतका कागजात पेश गर्नुपर्नेछ ।

चन्द्रागिरि नगरले असार २३ र २४ गते वडा नं. १२ बलम्बुमा बसोबास गर्ने लाभग्राहीहरूको राष्ट्रिय परिचय पत्र दर्ताको कार्य हुने जनाएको छ । यसैगरी असार २५ र २६ गते चन्द्रागिरि वडा नं. ८ मातातिर्थमा बसोबास गर्ने लाभग्राहीहरूको राष्ट्रिय परिचय पत्र दर्ताको कार्य हुने जनाएको छ । यसैगरी असार २७ र २८ गते चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापमा बसोबास गर्ने लाभग्राहीहरूको राष्ट्रिय परिचय पत्र दर्ताको कार्य हुने जनाएको छ । अन्य वडाका लागि क्रमश तालिका निर्धारण गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । कुनैपनि नागरिकले राष्ट्रिय परिचयपत्र साथमा बोकेपछि अन्य सबै परिचयपत्र नचाहिने व्यवस्था सरकारले गरेको हो ।

जसअनुसार सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने छ ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको समय सीमा सार्वजनिक गरेको छ । उक्त सीमा अनुसार १ साउन २०८१ बाट देशैभरि सबै प्रकारका सार्वजनिक सेवा लिन अब राष्ट्रिय परिचयपत्र हुनुपर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *