खानेपानी उपभोक्ता महासंघ काठमाडाैंको अध्यक्षमा तीनथाना खानेपानीका अध्यक्ष थापा सर्वसम्मत
थानकोट ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) को काठमाडाैं जिल्ला अध्यक्षमा चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित तीनथाना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तोरण थापा निर्वाचित भएका छन् ।
महासंघको आइतबार सम्पन्न जिल्ला स्तरीय भेलाले थापाको नेतृत्वमा १० सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
तीनथानास्थित तीनथाना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा सम्पन्न अधिवेशनले काठमाडाैं जिल्ला उपाध्यक्षमा स्यूचाटार खानेपानी उपभोक्ता समितिबाट सुशिला भट्टलाई चुनेको छ ।
दक्षिणकालीस्थित नाैमुले टाैदह खानेपानीका अशोक थापा फेडवासन काठमाडाैं जिल्ला समितिको सचिव चुनिएका छन् ।
धोबीढुङ्गा खानेपानी बुढानिलकण्ठबाट मन्जु श्रेष्ठ कोषाध्यक्ष तथा चक्रविनायक खानेपानी नागार्जुनबाट हरिप्रसाद विडारी महासंघको काठमाडाैं जिल्ला सहसचिव चुनिएको बताइएको छ ।
यसैगरी जिल्ला सदस्यमा क्रमश उज्वल खड्का गागल फेदी खानेपानी, नानीथापा आलापोट खानेपानी, राजेश तामाङ दक्षिणकाली खानेपानी र हरिकृष्ण श्रेष्ठ इचंगु खानेपानी चुनिएका छन् ।
महादेवस्थान-मातातिर्थ खानेपानीका पुरुषोत्तम उदास तथा भास्तिपुर खानेपानी बलम्बुका गोपी श्रेष्ठ महासंघको बागमती प्रदेश प्रतिनिधि चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलाई फेडवासनका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले आइतबार नै शपथ ग्रहण गराएका छन् ।
महासंघको बागमती प्रदेश सम्मेलन असार ११ र १२ गते बागमती प्रदेशको राजधानी हेटाैंडामा हुने तालिका रहेको छ, सो पछि राष्ट्रिय सम्मेलनको तिथि तय हुने बताइएको छ ।
महासंघले देशभरका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूको हक हितका लागि बहस तथा पैरवी गर्दै आएको छ।