तेस्रो प्याब्सन चन्द्रागिरि कप फुटसल शुक्रबारदेखि, दुई उमेर समुहमा प्रतिस्पर्धा गराइने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा सञ्चालनमा रहेका निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन चन्द्रागिरिले छात्र फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

असार ७ र ८ गतेका लागि तय गरिएको प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न १९ विद्यालयले सहभागिता जनाउने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिनुभयो । 

प्रतियोगितामा १६ वर्ष र १४ वर्ष उमेर समुहमा प्रतिस्पर्धा गराइने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो क्रममा दिइएको जानकारी अनुसार १६ वर्ष उमेर समुहमा १९ विद्यालयका १९ टोलीले सहभागिता जनाउने छन् । यसैगरी १४ वर्ष उमेर समुहमा १५ विद्यालयका १७ टोलीले सहभागिता जनाउने छन्। 

सहभागी विद्यालयहरूलाई चार समुहमा विभाजन गरिएको छ ।

लिग चरणका खेलमा शीर्ष २ मा रहने टोली नकआउट चरणका लागि छनोट हुनेछन्, लिग चरणका सबै खेल असार ६ गते शुक्रबार नैकापस्थित ब्राइट फ्यूचर मावि र सतुगंलस्थित ए आइ स्कुलको एरिनामा खेलाइने प्याब्सन चन्द्रागिरिका अध्यक्ष दिपक महर्जनले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल असार ८ गते शनिबार ब्राइट फ्यूचरको एरिनामा खेलाइनेछ ।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा प्रतियोगिताको उत्कृष्ठ खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको यू-१६ अन्तर्गत इभर भिजन, जेसिस इन्टरनेशनल, न्यू डायमण्ड, सुप्रिम मोडल, एआइ, गोल्डेन फ्लावर, लिटर स्टार्स (बालतारा), ओराकल-रे, रिब्स, अप्रोच, विद्याश्री, ब्राइट एन्जलस्, माउण्ट चन्द्रागिरि, सनसाइन, ब्राइट फ्यूचर, ब्राइट होराइजन, हाइ न्यूभिजन, मोडल स्कुल र प्राइम इंग्लिस स्कुलले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको यू-१४ अन्तर्गत ब्राइट फ्यूचर, हाइ न्यू भिजन, लिटिल स्टार्स (बालतारा), मेगा पब्लिक, एआइ ए, बेसिक लर्निङ, ब्राइट एन्जलस्, रिब्स बी, एआइ बी, गोल्डेन फ्लावर्स, रिब्स ए, संवृद्धि लर्निङ, सनसाइन, ब्राइट होराइजन, ज्ञान सुधा, जेसिस र प्राइम इंग्लिस स्कुलले सहभागिता जनाउनेछन् ।

नगरक्षेत्रमा सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूबीच वन्धुत्वको भावना जागृत गराउन तथा विद्यार्थीहरूमा रहेको प्रतिभा प्रस्फुटन गराउन कार्यक्रम आयोजना गरिएको प्याब्सन चन्द्रागिरिका सल्लाहकार दयाराम थापाले जानकारी दिनुभयो ।

प्याब्सन चन्द्रागिरिले समय समयमा अन्तर विद्यालय शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *