कार्यसम्पादनका आधारमा चन्द्रागिरिका वडाहरूको वर्गीकरण, बजेट सिलिङ्ग कुन वडाको कति ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि वडागत रूपमा बजेट विनियोजनका लागि सबै वडाहरूको वर्गीकरण गरेको छ ।

विभिन्न ७ वटा सूचकहरूमा वडाहरूले पाएको अंकका आधारमा सो वर्गीकरण गरिएको नगरले जनाएको छ।

सोही वर्गीकरणका अनुसार आउँदो आर्थिक वर्षका लागि बजेटको सिलिङ्ग तोकिएको छ ।

जनसंख्या, भाैगोलिक क्षेत्रफल, वर्ष भरिको राजश्व संकलन, गरिबीको अवस्था, भाैतिक संरचनाको अवस्था, खर्च पारदर्शीता र समुदायको लगानीका आधारमा सो वर्गीकरण गरिएको हाे ।

कार्यसम्पादन मूल्याकनका आधारमा ए प्लस श्रेणीमा वर्गीकरण हुने वडाहरूमा चन्द्रागिरि १, ३, ८,११, १२, १४ र १५ रहेका छन्, यी वडाले मापक अंक ६० प्रतिशत भन्दा बढी प्राप्त गरेका थिए। ए श्रेणीमा वर्गीकरण हुने वडाहरूमा ५, ६, ७, ९ र १० रहेका छन्, यी वडाले मापक अंक ५० देखि ५९ प्रतिशतसम्म प्राप्त गरेका थिए। । चन्द्रागिरि २, ४ र १३  बी श्रेणीको वर्गीकरणमा परेका छन्, यी वडाले मापक अंक ४० देखि ४९ सम्म प्राप्त गरेका थिए। ।

आगामी आर्थिक वर्षका लागि चन्द्रागिरि नगरका ए प्लस श्रेणी वर्गीकरणमा परेका वडाहरूले अधिकतम १ करोड ५० लाख, ए श्रेणी वर्गीकरणमा परेका वडाहरूले अधिकतम १ करोड ४० लाख र बी श्रेणी वर्गीकरणमा परेका वडाहरूले अधिकतम १ करोड ३० लाख रूपैयाँसम्मको बजेट सिलिङ्ग पाएका छन् । साथै, थप सशर्त बजेट सिलिङ्ग बापत हरेक वडाले ९४ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

चालु तर्फको बजेटमा हरेक वडाहरूले खेलकुद, स्वास्थ्य, अभियानात्मक, प्रवर्द्धनात्मक तथा विविध भैपरी आउने कार्यक्रमहरूमा खर्च गर्न सक्ने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाले असार पहिलो साता आर्थिक वर्ष २०८१/८२ का लागि बजेट पारित गर्ने तयारी गरेको छ । 

नगरले हिजो बिहीबार आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम पारित गरेको थियो ।

आर्थिक वर्ष २०८१/८२ का चन्द्रागिरि नगरको नीति तथा कार्यक्रम पारित


Leave a Reply

Your email address will not be published. Required fields are marked *