एसइइका परीक्षार्थीहरूका लागि काठमाडाैं शिक्षा क्याम्पसले आज परामर्श कक्षा सञ्चालन गर्ने
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१० सतुङ्गलमा रहेको काठमाडाैं शिक्षा क्याम्पसले आज स्कुले विद्यार्थीका लागि लक्षित गरी परामर्श कक्षा सञ्चालन गर्ने भएको छ ।
यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर नतिजा कुरिरहेका विद्यार्थीहरूका लागि लक्षित गर्दै परामर्श कक्षा सञ्चालन गर्न लागिएको बताइएको छ ।
क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले सम्मुखमा रहेको माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनलाई ध्यानमा राख्दै विद्यार्थीहरूका लागि कक्षा ११ मा कुन विषय अध्ययन गर्ने, कस्ता शैक्षिक संस्थामा अध्ययन गर्ने लगायतका विषयमा निःशुल्क परामर्श दिइन लागिएको जानकारी दिनुभयो।
सतुङ्गलस्थित क्याम्पस हातामा सञ्चालन हुने सो परामर्श कक्षा विभिन्न तीन सेशनमा सञ्चालन हुने बताइएको ।
जहाँ विभिन्न विषयका विषयविज्ञहरूले विद्यार्थीहरूका लागि मार्ग निर्देशनात्मक परामर्श सेवा दिनेछन् ।
कार्यक्रम बिहान ७ः३० बजेबाट बिहान ११ः३० बजेसम्म जारी रहने क्याम्पसले जनाएको छ ।
कक्षा ११ मा अध्ययन गर्न विद्यार्थीहरूका लागि विषय छनोट, शिक्षण संस्था छनोटमा सो परामर्श कार्यक्रम फलदायी हुने अपेक्षा लिइएको क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताको भनाइ छ ।
सो कार्यक्रममा करिब २ सय जना विद्यार्थीले सहभागिता जनाउने क्याम्पसको दाबी छ ।