सामुदायिक क्याम्पस संघका प्रतिनिधिले भेटे बागमती प्रदेशका मुख्यमन्त्री
थानकोट ।
देशभरका सामुदायिक क्याम्पसहरुको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रनिनिधिहरूले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग भेट गरेका छन् ।
वर्तमान समयमा समग्र सामुदायिक क्याम्पसहरुको सन्दर्भसहित बागमती प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरुका साझा समस्या र तीनका समाधानका उपायहरुमा वस्तुनिष्ठ छलफल, ध्यानाकर्षण गराउने उद्देश्यले नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष तथा सतुङ्गलस्थित काठमाडौं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री जम्मकट्टेलसँग बिहीबार भेट गरेको हो।
सो क्रममा नेपाल पब्लिक क्याम्पस संघ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारीहरु, पब्लिक क्याम्पस प्राध्यापक संघका पदाधिकारीहरुसहितको समूहले बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया र मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक रूपमा भेट गरेको बताइएको छ ।
भेटका क्रममा बागमती प्रदेशभित्र रहेका सामुदायिक क्याम्पसका बारेमा छलफल भएको अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई देशभर ५ सय ६१ वटा सामुदायिक क्याम्पसहरु संचालन भइरहेका छन् ।
जसमा बागमती प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरु मध्ये सामुदायिक क्याम्पस संघमा १ सय ७३ वटा सामुदायिक क्याम्पसहरु आबद्ध रहेका छन् ।
जसमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्ने सामुदायिक क्याम्पसहरुको संख्या १८ रहेको छ ।
बागमती प्रदेशमा १ सय ७३ वटा सामुदायिक क्याम्पसहरु छन् जसमा १२९ विश्वविद्यालय अनुदान आयोगबाट अनुदान पाइरहेका छन् भने बाँकी विद्यालयहरुले कम विद्यार्थी भएका कारणले अनुदान पाएका छैनन् ।
सामुदायिक क्याम्पसहरुलाई राज्यले उच्च शिक्षामा छुट्याईएको बजेटको ४ देखि ६ प्रतिशत उपलब्ध गराउँदै आएकोमा सामुदायिक क्याम्पस सञ्चालन गर्न कठीनाइ उत्पन्न भएको नेपाल पब्लिक क्याम्पस संघ अध्यक्ष गुप्ताको भनाइ छ ।